डडेल्धुरा : नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले २०७४ सालको निर्वाचनपछि साढे तीन वर्ष सरकार चलाएको नेकपा एमालेले घोषणापत्रमा उल्लेख एक प्रतिशत काम पनि नगरेको आरोप लगाएका छन् ।
डडेल्धुराको अजयमेरु गाउँपालिकामा गठबन्धनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले तीन वर्ष सरकार चलाउँदा पनि एमालेले कुनै काम नगरेको आरोप लगाएका हुन् । नेकपा एमालेले प्रकाशित गरेको घोषणापत्रमा समेटिएका २० ग्यारेन्टी पुरा गर्ने एमालेसँग कुनै ठोस आधार नभएको बताउँदै नेता महरले निर्वाचन प्रभावित पार्न एमालेले जनताको आँखामा छारो हाल्ने काम घोषणापत्र ल्याएको बताए ।
‘केपी ओलीले साढे तीन वर्षसम्म सरकार चलाए । तर, २०७४ को घोषणापत्रमा उल्लेख एक प्रतिशत काम पनि गरेनन्,’ उनले भने, ‘ल त्यस बेला घोषणापत्रमा समेटिएका उहाँको पार्टीले कति काम ग¥यो? तपाईँहरू नै सम्झिनुहोस् त ।’ आफ्नो घोषणापत्रमा लेखेको एक प्रतिशत काम पनि जुन पार्टीले कार्यान्वयन गर्दैन त्यो पार्टीले देश बनाउँछु भन्नु हावादारी गफ भएको उनको आरोप छ ।
कांग्रेसले सरकारको नेतृत्व गरेपछि देशमा निर्वाचनको माहोल बनेको र मुलुक स्थिरताको बाटोमा जानथालेको महरले बताए । केपी शर्मा ओली नेतृत्वको सरकारले साढे तीन वर्ष सरकार चलाएर ऋण बढाउने मात्रै काम गरेको महरको आरोप छ ।
‘केपी ओली प्रधानमन्त्री हुने समयमा एक जना नेपालीको टाउकोमा चानचुन २३ हजार ऋण थियो,’ महरले भने, ‘ओलीले साढे तीन वर्ष सरकार चलाएपछि ६० हजारभन्दा बढी पुगाइदिए । ६ खर्ब रहेको देशको ऋण पनि बढाएर २० खर्ब बढी पुगाइदिए । फेरि पनि केपी ओली नेतृत्वको सरकार बने अबको ५ वर्षमा थप एक सय खर्बको अर्थतन्त्र बन्ने भन्दा पनि एक सय खर्ब ऋण थपिने र देश कङ्गाल बन्ने खतरा छ ।’
संविधान बचाउन, स्थिरता कायम गर्न र देशको समृद्धिका लागि गठबन्धन बनाएर अगाडि बढेको उनको तर्क थियो ।
सम्बन्धित पाेस्टहरु