डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराका २ पूर्व जिल्ला सभापतिले आगामी चुनावमा कर्ण मल्ललाई समर्थन गर्ने घोषणा गरेका छन् । कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको साथ छाडेर मल्ललाई समर्थन गरेका हुन् ।
ढाँट र चटौतले आगामी चुनावमा प्रतिनिधि सभाका उम्मेदवार कर्ण मल्ल र प्रदेश सभा २ का उम्मेदवार ताराप्रसाद जोशीलाई जिताउन लाग्ने बताएका छन् । कांग्रेसका पूर्व जिल्ला सभापति रहेका मल्ल नेपाली कांग्रेस वीपीबाट देउवाविरुद्ध चुनावमा उठेका छन् । संयुक्त विज्ञप्तिमा उनीहरुले डडेल्धुरामा कांग्रेस र शेरबहादुर देउवाका नामबाट केही सिमित व्यक्तिहरुले आम जनतामाथि जनताकै मतप्राप्त गरी गर्ने अन्याय, अत्याचार शोषण र दमनबाट मुक्त गराउन मल्ला र जोशीलाई समर्थन गरेको बताएका छन् ।