सागर ढकालले देउवालाई माला लगाउन पाएनन्, टाढैबाट चढाए फूल

अत्तरिया : डडेल्धुराका लागि अपराजित नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लड्न स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल डडेल्धुरामा चुनावी गतविधिमा व्यस्त छन् ।

उनी अहिले एक निर्वाचन क्षेत्र रहेको डडेल्धुराका वडा–वडामा घुमिरहेका छन् । तर पनि आफ्नो प्रचार–प्रसारबाट फुर्सद निकालेर उनी बिहीबार जिल्ला सदरमुकाम पुगे । किनकी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चुनावीसभा सदरमुकामस्थित बसपार्कमा हुँदै थियो । लोकतान्त्रिक–वाम गठबन्धनको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्न बिहीबार दिउँसो मात्रै प्रधानमन्त्री देउवा जिल्ला आएका थिए । उनै देउवालाई भेट्न सागर बसपार्क पुगेका हुन्।

बसपार्कमा नेपाली कांग्रेस तथा सत्ताधारी दलका कार्यकर्ता हातमा फूलको माला बोकेर देउवालाई स्वागत गर्न तयार बसेका थिए । सोही लाइनमा सागर ढकाल पनि मिसिए । अमरगढी नगरपालिकाको दह ब्यारेकमा देउवा सवार हेलिकोप्टर ल्यान्ड भएपछि उनी केही बेरमा बसपार्क पुगे । सबैले देउवालाई फूलको माला लगाउन सुरु गरे । सागर पनि अगाडि बढे तर उनले माला भने लगाउन पाएनन् । उनले दिएको माला प्रधानमन्त्रीका निजी सुरक्षा गार्ड (पीएसओ) ले समाते । ढकाल भने रोकिएनन् । उनले हातमा राखेको फूल टाढैबाट देउवालाई चढाए ।
‘त्यसो किन गर्नुभएको ?’ भन्ने प्रश्नमा ढकाल भन्छन्, ‘मेरो प्रतिस्पर्धी भए पनि उहाँ देशको प्रधानमन्त्री । उहाँ हजुरबुवाको उमेरको । मैलै सम्मानस्वरुप उहाँलाई फूलले पूजेको हुँ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.