कैलाली, २० कात्तिक : नेपाली काँग्रेस भित्र सालिन स्वभाव भएका नेतामा पर्छन डिल्लीराज पन्त । मंसिरमा हुने निर्वाचनमा कैलाली–५ बाट प्रतिनिधि सभाका लागि उनको उम्मेदवारी रहेको छ । उनी २०७४ मा निर्वाचनमा लाली ५ (ख) बाट प्रदेश सभास सदस्यमा सहजै निर्वाचित भएका व्यक्ति हुन । उनलाई सत्ता गठबन्धनको पनि साथ रहेको छ । रातदिन नभनेर हिजोआज पन्त प्रचारमा व्यस्त छन् ।
पन्तका मुख्य प्रतिस्पर्धी नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका नारदमुनी रानाबीच हुने आंकलन रहेको छ ।
पन्त र रानाबीचको प्रतिस्पर्धाले मात्रै होइन, यहाँ प्रतिस्पर्धामा रहेका स्वतन्त्र उम्मेदवारहरु पनि प्रभावशाली देखिएका छन् । कांग्रेसको विद्रोही नेताको रुपमा चिनिएका पुष्करनाथ ओझा पनि चुनावी मैदानमा छन् ।
कांग्रेसका नेता समेत रहेका बुवा चेतराज पन्त र आमा हरिप्रिया देवी पन्तको कोखबाट २०१२ फागुन १२ गते डिल्लीराज पन्त कैलालीमा जन्मिएका हुन् । उनले आफ्नो जित्न आधार नै धनगढीका जनतामा आफ्नो लगानी रहेको बताएका छन् ।
बुवा चेतराजको राजनीतिक पृष्ठभूमि उल्लेख गर्दै उनले भने, ‘मेरो बुवा २००६ सालमा मातृका प्रसाद कोइरालाबाट नेपाली कांग्रेसको सदस्यता लिनुभएको थियो । २००७ सालको क्रान्तिमा मेरो बुवाले कैलाली, बेलौरी र ब्राह्मदेवको क्रान्तिसँगसँगै डोटीको पनि नेतृत्व लिनुभयो । राणा शासन ढल्यो । २०४६ सालको आन्दोलन सफल भएपछि धनगढीमा ठूलो आम सभा भयो । त्यसको सभापतित्व मेरो बुवाले गुर्नभएको थियो ।’
कांग्रेसकै विद्रोही माहोलमै हुर्किएका पन्तको विद्यार्थी राजनीतिक जीवन भने २०२९ देखि सुरु भएको हो । उनमा सानैदेखि राणा शासन, पञ्चायती व्यवस्थाप्रति वितृष्णा थियो । जब उनी १७ वर्षका थिए । धनगढीको पञ्चोदय विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए । तब पञ्चायती शासन विरुद्ध काम गरेको भन्दै ६ महिना जेल जीवन भोग्नु परेको उनी सुनाउँछन् ।
उनले भने, ‘निर्वासनमा एक जना हाम्रो नेता हुनुहुन्थ्यो । हामी श्याम बाजे भन्थ्यौ । उनको नाम श्यामप्रसाद खतिवडा थियो । उनी वीरगञ्जको मान्छे थिए । उनी २००७ देखि यतै थिए । हामी इन्डिया जाँदाखेरि उनी इन्डियाको चन्दचौकी, गौरीफन्टा आइरहन्थे । उनी कांग्रेसका प्रचारक थिए । उनैबाट हामीले एउटा कागज पायौं । कागज के थियो भने, ‘शपथ पत्र’ । पञ्चायती व्यवस्थालाई हटाउने नेपाली कांग्रेसको शपथ पत्र थियो । त्यो भरेर हामीले पलियामा रहेका श्याम बाजे कहाँ पुयाउनुपर्ने थियो । तर बाटोमै प्रहरीले थाह पायो । तीन वटा फोल्डर थियो । एउटा मेरो, एउटा बझाङका धर्मबहादुर सिंह र एउटा सहजपुरका रतनबहादुर शाहको । हामी तीन जनालाई समात्यो । दुई जना फरार भए । २०३१ मा राजकाज मुद्दामा ६ महिना जेल बस्यौ । हामीलाई त्यसबेला अराष्ट्रिय तत्व भन्थे ।’
जेलबाट छुटेपछि धनगढीमा क्याम्पस नभएपछि उनी अध्ययनको क्रमा भारतको देहरादुन गए । त्यहाँबाटै बिएसम्म अध्ययन गरे । अध्ययनताका नै उनी कांग्रेसका विभिन्न गतिविधिमा संलग्न थिए । पञ्चायती व्यवस्थाको विरुद्धमा अभियान चलाउथे ।
देहरादुनको बसाइ सुनाउँदै उनले भने, ‘त्यहा मेरो शेरबहादुर देउवासँग भेट भयो । उहाँकै परामर्शले हामी नेपाल विद्यार्थी संघ पनि खोल्यौ । त्यहाँ संस्थापक अध्यक्ष भए । देहरादुनबाट फर्केपछि कैलालीमा पनि नेपाल विद्यार्थी संघको (प्रारिम्भक) कमिटी खोले । यहाँ विद्यार्थी आन्दोलनको नेतृत्व लिए । निर्दलीय व्यवस्थाको विरुद्धमा । २०४६ सालमा भूमिगत बस्यौ । आन्दोलन सफल भयो । चैत २६ गते राजाले बहुदल घोषणा ग¥यो ।’
पन्तले कांग्रेसको राजनीतिक जीवनमा क्रियाशिल भए पनि हालसम्म मुख्य जिम्मेवारीबाट वञ्चित हुदै आएको सुनाउँछन् । २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यको लागि अप्लाइ गर्दै अहिलेको निर्वाचनमा पार्टीले जिम्मेवारी दिएको उनी बताउँछन् ।
‘जतिखेर कांग्रेस विभाजन भयो । म संस्थापन पक्षबाट कैलाली जिल्ला समिति सदस्य भए । मैले पद लिएको त्यही हो । त्यो बाहेक २०७४ सम्म पार्टीको कुनै जिम्मेवारीको पद छैन । न मलाई कसैले कुनै पद दियो । न मैले मागे’, उनले भने, ‘२०७४ को निर्वाचनमा प्रदेशका कुरा आयो । संघीयताका कुरा आए । पार्टीले अहिलेसम्म त हेरेन । प्रदेशमा यहाँ २÷२ वटा सिट छ, एउटा सिट पाउँछु कि ? भनेर अप्लाइ गरेको हुँ मैले । शौभाग्यले पाइयो । जनताले माया दिए । चुनाव जिताए । ५ वर्षमा मैले गरेको काम देखेर, मेरो व्यवहार देखेर र आरजु भाउजुको स्वास्थ्यको अवस्थाले नदिएपछि मलाई यो पालि पार्टीले संघको जिम्मेवारी दिइएको हो । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार छु ।’
पन्तले आफ्नो संघर्ष, पृष्ठभूमि र आफू दानदानी काँग्रेस हुनुलाई चुनाव जित्ने प्रमुख आधार रहेको जिकिर गर्छन् । साथै यस क्षेत्रको सामाजिक क्षेत्रमा गरेको कामले पनि आफ्नो मार्ग स्पष्ट रहेको उनको भनाइ छ ।
उनले भने ‘यहाँ सबैसँग परिचित छु । मेरो आफ्नै सामाजिक जीवन छ । ६ वर्ष त्रिनगर माविको अध्यक्ष भए । प्लस टु बनाए । आफ्नो जग्गा धितो राखेर विद्यालयको आयस्रोत बनाउन सपिङ कमप्लेक्स बनाए । ८ वर्ष रेडक्रस कैलालीको कोषाध्यक्ष भए । कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष मोहनबहादुर शाह हुँदा कार्यकारी सदस्य भए । कैलाली जनपुस्ताकालयको सचिव भएर काम गरे । हृदय रोग प्रतिष्ठान कैलालीको अध्यक्ष भए । यसरीमा जनतामाझ परिचित छु । मेरो व्यक्ति जीवनको अधारमा मेरो जित्ने आधार छ । कांग्रेस देशकै सशक्त पार्टी भएको र त्यसको उम्मेदवार भएकाले पनि मेरो जित्ने आधार छ ।’
आफ्नो निर्वाचन क्षेत्र अन्तरगत धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाको २ वडा परे पनि यहाँको अवस्था जर्जर रहेको बताए । बाटो घाटो, पुल पुलेसो, नदी कटानको अवस्था विकराल रहेको बताउँदै उनले आफू जितेको अवस्थामा ती समस्यालाई मध्यनगर गरेर काम गर्ने बताए ।
त्यस्तै उनले गेटा विमान स्थलको अवस्था सुधार गरी अन्तर्राष्ट्रिय नभए प्रादेशिक स्तरको बनाउने बताएका छन् । गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने, सेती प्रादेशिक अस्पतालको स्तरोन्नती गर्ने, गौरीफन्टा नाकाको स्तरोन्नती गर्ने, रासायनिक मलको करखाना स्थापना गर्ने पनि आफ्नो प्रमुख एजेण्डा छन् ।