धनगढी, २४ कार्तिक : महिला, कानून र विकास मञ्च (एफडब्ल्युएलडी) को आयोजनामा बिहीबार धनगढीमा आसन्न निर्वाचन र नागरिकता अधिकारको सवालसम्बन्धी सञ्चारकर्मीहरूसँग छलफल कार्यक्रम भएको छ । कार्यक्रममा नागरिकहरूलाई नागरिकता प्राप्त गर्दा हुने समस्यालगायतको बारेमा छलफल भएको थियो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धर्मराज ओझाले अनाथ तथा अभिभावक नभएका तर नागरिकता लिने उमेर पुगेका बालबालिका, मुस्लिम समुदायलगायत अन्य समस्या रहेका बालबालिकालाई नागरिकता दिने प्रक्रियाबारे प्रष्ट नीति, कानून नरहेको बताए । उनले यस्तो समस्या रहेका नागरिकलाई नागरिकताका लागि सिफासिर गर्न समस्या रहेको बताए ।
कार्यक्रममा एफडब्ल्युएलडीका कार्यक्रम संयोजक अधिवक्ता दीपेश श्रेष्ठले नेपालको संविधानमा आमाको नामबाट नागरिकता पाउने व्यवस्था रहेपनि कार्यान्वयन नभएको बताए । उनले पितृसत्तात्म सोचका कारण संविधानमा उल्लेख भएको उक्त अधिकार नागरिकले उपयोग गर्नबाट वञ्चित भएको बताए ।
अधिवक्ता रेणु प्रधान श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमालय जोशी, जिल्ला सचिव प्रेम चौधरी, पत्रकार उन्नती चौधरी, अंकुश कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सम्बन्धित पाेस्टहरु