धनगढी : कैलाली र कञ्चनपुर जिल्लामा निर्वाचनको मौकामा काठ तस्करी भइरहेको पाइएको छ। सामुदायिक वन तथा चुरे क्षेत्रमा निर्वाचनको मौका छोपी चुरे क्षेत्रमा धमाधम काठ तस्करी भइरहेको भेटिएको सामुदायिक वनका कर्मचारीहरुले बताएका छन्। चुरे संरक्षण सञ्चालका पदाधिकारी र कर्मचारीले सोमबार अनुगमन गर्दा सालका रूखहरू ढालेर तस्करी भइरहेको भेटिएको हो ।
कञ्चनपुरको वेदकोट नगरपालिकाअन्तर्गत गणेश र बत्छेला सामुदायिक वनको उत्तरतर्फ चुरेमा आधा दर्जन सालका रूखहरू काटिएको अवस्थामा भेटिएका हुन् । सञ्जालका उपाध्यक्ष मोहन चन्दले तीमध्ये केही रूखहरू तस्करी भइसकेको र सोही क्षेत्रमा केही चिरान भइरहेको अवस्थामा भेटिएको बताए । सामुदायिक वनको झन्डै ५ किलोमिटर उत्तरतर्फ कमलताल क्षेत्रमा सालका गोलियासँगै काट्न प्रयोग भएको हाते आरासमेत भेटिएको चन्दले बताए ।
सञ्जालका कर्मचारी करन भट्टले एकै ठाउँमा ६ ओटा रूख काटिएको, आधाभन्दा बढी अन्तै लगिसकिएको उनले बताए । उनका अनुसार कञ्चनपुरको बत्छेला र गणेश सामुदायिक वनका उत्तरतर्फ चुरेमा धेरै ठाउँमा रूखहरू काटिएका जानकारी दिए ।नयाँ काटिएका मात्रै ४ वटा रूख भेटिएको उनले बताए । उनका अनुसार एक साताअघि बत्छेला सामुदायिक वन क्षेत्रमा काठ तस्करी भइरहेको अवस्थामा बरामद भएको थियो । उक्त बरामद भएको काठ पनि सोही क्षेत्रबाट ल्याइएको हुन सक्ने अनुमान गरिएको छ ।
मतदानको दिन नजिकिँदै गर्दा राजनीतिक दलदेखि प्रहरी प्रशासनलगायत सबै कर्मचारी निर्वाचनमा केन्द्रित भएका बेला चुरेमा वन फँडानी भइरहेको हो । विगतमा पनि निर्वाचनका बेला वन फँडानी हुने गरेको छ । तर डिभिजन वन कार्यालयका कर्मचारी भने यसतर्फ बेखबर हुने गरेका छन् ।