अत्तरिया : सुदूरपश्चिममा कांग्रेस अहिले गठबन्धनको सहारामा एमालेको पकड भत्काउन चाहन्छ । गठबन्धनमा तालमेल गरेर कांग्रेसले नौवटा क्षेत्रमा उम्मेदवारी दिएको छ । माओवादीले चार र एकीकृत समाजवादीले तीनवटा क्षेत्रमा उम्मेदवारी दिएका छन् । आफ्नो गृह प्रदेश भएकाले यहाँ गठबन्धनले बढीभन्दा बढी जित हासिल गरोस् भन्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको चासो रहेको कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बताए । प्रधानमन्त्री यहाँ रहँदा त्यसैमा केन्द्रित रहेर छलफल र भेटघाट गरेको उनले बताए । ‘पार्टी सभापति पनि भएकाले देशैभरि गठबन्धन जिताउने उहाँको कोसिस हुने नै भयो,’ भट्टले भने, ‘आफ्नो गृह प्रदेशमा सानदार जित होस् भन्ने प्रधानमन्त्रीको चाहना स्वाभाविक पनि हो ।’
०७४ मा संघमा ११ र प्रदेशमा पनि सबैभन्दा बढी १७ सिट जितेको एमालेलाई यसपटक गठबन्धनको चुनौती छ । स्थानीय तहमा प्राप्त मतका आधारमा यहाँका सबै क्षेत्रमा गठबन्धन अगाडि देखिन्छ । विभाजनको ठूलो असरसँगै पार्टीले अपमानपूर्वक टिकट नदिएको भन्दै असन्तुष्ट यहाँका प्रभावशाली नेता भीम रावल चुनावी प्रचारमा खटिएका छैनन् । यसका बाबजुद एमाले सुदूरपश्चिममा आफ्नो साख जोगाउने कसरतमा छ । रावल प्रचारमा नजाँदा पनि यहाँ पार्टीले साख जोगाओस् भन्ने अध्यक्ष ओलीको चाहना रहेको एमालेका एक नेताले बताए । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले चुनावी अभियानको उद्घाटन गर्न आएका अध्यक्ष केपीशर्मा ओली पार्टीको आग्रहमा पुनः आउन लागेको बताए । दार्चुलाबाट अभियान सुरु गरेर एमालेले दुईवटा सन्देश दिन खोजेको उनको भनाइ छ ।
एमालेबाट सुदूरपश्चिममा केन्द्रीय सचिव लेखराज भट्टसहित कर्ण थापा, दामोदर भण्डारी, गणेशसिंह ठगुन्नालगायत प्रभावशाली नेताहरू प्रतिस्पर्धामा छन् । कांग्रेसबाट प्रधानमन्त्री देउवासहित सहमहामन्त्री बद्री पाण्डे, प्रदेश सभापति वीरबहादुर बलायर, रमेश लेखक, एनपी सावद, दिलेन्द्रप्रसाद बडू चुनाव लड्दै छन् । माओवादीबाट प्रदेश इन्चार्ज खगराज भट्ट, नेतृ विना मगर, एकीकृत समाजवादीबाट प्रेम आले, भानुभक्त जोशी, श्रममन्त्री शेरबहादुर कुँवरलगायत प्रभावशाली नेताहरू चुनावी प्रतिस्पर्धामा छन् ।