आम निर्वाचन २०७९ : उम्मेदवारको प्रचारप्रचार गर्ने अवधि आज मात्र

अत्तरिया : स्थानीय निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो । मंसिर ४ गते आईतबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज बिहिबार राति १२ बजे मौन अवधि सुरु हुनेछ । मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको छ ।
आयोगले बुधबार राति १२ बजेदेखि नै मतदान सम्पन्न नभएसम्म मादक पदार्थ बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ । निर्वाचन आयोगले कात्तिक १७ गते देखि ३० गते सम्म उम्मेदवारहरुलाई प्रचारप्रचार गर्ने समय राखेको थियो । त्यसै अनुसार उम्मेदवारहरुले आफ्नो निर्वाचन प्रचार गरेका थिए । आज राति १२ बजे सम्म मतदाताको घर दैलोमा जान पाईने छ । १२ बजे पछि मतदाताहरुको घर दैलोमा गएमा कार्यवाही हुने आयोगले जनाएको छ । आयोगले तोकिएको अवधि र ठाउँमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरेको छ ।
उम्मेदवारहरु अन्तिम कसरतमा छन् । कैलाली–४ मा सबै उम्मेदवारहरु मतदाता सँग भोट् माग्न व्यस्त छन । गाउँ गाउँमा पुगेर मतदातालाई भेटेर उम्मेदवारहरु आ –आफ्नो पक्षमा मतदातालाई पार्न अन्तिम कसरतमा जुटेका छन् । कैलाली–४ मा कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बलायर र एमालेका प्रदेश इन्चार्ज लेखराज भट्टबीच रोचक प्रतिस्पर्धा हुने आकांलन गरिएको छ ।
बलायरलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ छ भने भट्ट एमालेको एकल बलमा चुनावी मैदानमा छन् । ६३ वर्षीय भट्ट र ५७ वर्षीय बलायर भोट माग्न दौड धुपमा रहेका छन् । बलायर कांग्रेस डोटीको पूर्वसभापतिसमेत हुन् । ०६४ मा संसदीय राजनीतिको यात्रा थालेका बलायरले चुनाव जित्न सकेनन् । तर,०७० को संविधानसभा निर्वाचनमा उनी डोटीको तत्कालीन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
भट्ट २०६४ सालको संविधानसभा चुनावमा कैलाली–५ बाट विजयी भए । तर २०७० सालको चुनावमा भने यही क्षेत्रबाट कांग्रेसका दीर्घराज भाटसँग पराजित भएका थिए । उनले २०७४ मा भने कांग्रेसका सुनिलकुमार भण्डारीलाई पराजित गर्न सफल भएका थिए ।
स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा भट्ट बलायर भन्दा पछि नै छन् । यो क्षेत्रमा दुबैले आ आफ्नो जित रहेको दाबी गर्दै आएका छन् । यो क्षेत्रमा एकल एकल कांग्रेस र एमालेको मतको अन्तर धेरै फरक छैन ।
यहाँ कांग्रेसको झण्डै २२ हजार र एमालेको २१ हजारको हारहारीमा मत रहेको छ । आगामी मंसिर ४ को निर्वाचनका लागि यहाँ एक लाख ४ सय ५२ मतदाता छन् । यहाँ डोटीबाट बसाइसराइ गरेर आएकाहरुको बाहुल्यता छ । यि दुबै उम्मेदवार पनि डोटी कै हुन । यस क्षेत्रमा पहिलो पटक नागरिक उन्मुक्ती पार्टीले पनि चुनावमा आफ्नो उम्मेदवार उठाएको छ । थारु अगुवा कैया चौधरी प्रतिनिधी सभामा उम्मेदवार बनेका छन् । झण्डै २० हजार मत यस क्षेत्रमा थारु सामुदायका मतदाता रहेका छन् । प्रदेश को (क) मा थारु मतदाताको संख्या उल्लेख्य रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.