अत्तरिया : देशभर जस्तै सुदूरपश्चिममा निर्वाचनको तयारी पुरा भएको छ । आज हुने प्रदेश र प्रतिनिधिसभा सदस्य गरी सुदूरपश्चिममा ४८ प्रतिनिधि छनोट गर्न मतदानस्थल र मतदान केन्द्र स्थापनाको काम पुरा भएको छ । आइतबार बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि सबै तयारी पुरा भइसकेको निर्वाचन कार्यालयले जनाएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीबाट प्रदेश र प्रतिनिधिसभा सदस्य छनोट हुनेछन् । प्रतिनिधितर्फ ५ र प्रदेशतर्फ १० गरी १५ सदस्य कैलालीबाट चुनिने भएका हुन् ।
प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुरबाट ९ जना छनोट हुनेछन् । प्रतिनिधितर्फ तीन र प्रदेशतर्फ ६ जना छनोटका लागि मतदान हुँदैछ । आफ्नो प्रतिनिधि छनोटका लागि निर्वाचन आयोगले मतदातालाई पायक पर्ने स्थान छनोट गरी मतदानस्थल र मतदान केन्द्र स्थापना गरेर निर्वाचनको सबै तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले बताए । ‘कञ्चनपुरमा मतदानका लागि सबै तयारी पुरा भएर विहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ ।’
अछामबाट प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार सदस्य छनोट हुनेछन् । बाँकी पहाडी जिल्ला डोटी, डडेलधुरा, बैतडी, बझाङ, बाजुरा र दार्चुलाबाट एक–एक गरी ६ प्रतिनिधिसभा सदस्य र १२ प्रदेशसभा सदस्य गरी १८ प्रतिनिधि छनोट हुनेछन् । कानूनी व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यको प्रत्येक निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि दुई–दुई जना छनोट हुन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पनि तयारी पुरा भइसकेको निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख करुणाकर अवस्थीले बताए । सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाता छन् । मतदानका लागि निर्वाचन आयोगले प्रदेशभर एक हजार १६१ मतदानस्थल र दुई हजार १४६ मतदान केन्द्र स्थापना गरेको छ ।
सुदूरपश्चिम प्रदेशका एक हजार १ सय ६१ मतदान स्थलमा मतदान अधिकृत, कर्मचारी, मत पत्र र मत पेटिका पुगिसकेका प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए । सबै मतदान केन्द्रमा बुथहरु निर्माण कार्य पनि सम्पन्न भएको छ ।
भट्टका अनुसार सुदूरपश्चिमका एक हजार १ सय ६१ मतदान स्थल मध्य ४ सय ५ मतदान स्थल मात्र भौगोलिक तथा सुरक्षाका दृष्टिले सामान्य स्थितमा राखिएका छन् । तर ७ सय ५६ स्थल भने सुरक्षाका दृष्टिले संवेदनशिल र अति संवेदनशिल मतदान स्थलको सूचिमा राखिएका छन् । प्रदेशका ३ सय ५२ मतदान स्थल अति संवेदनशील र ४ सय ४ स्थललाई संवेदनशील मतदान स्थलको सूचिमा राखिएको छ ।
ती मतदान स्थललाई भौगोलिक दृष्टि र अन्य मानवीय दृष्टिले संवेदनशिल स्थलमा राखिएका हुने । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार भौगोलिक अवस्था, सुरक्षा चुनौतीलगायतका आधारमा सुरक्षा निकायले मतदान स्थललाई वर्गीकरण गरेको छ । १६ प्रतिनिध तथा ३२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा दुई हजार १ सय ४६ मतदान केन्द्र निर्धारण गरिएका छन् । तीमध्ये ७ सय १० अति संवेदनशील, ७ सय ७८ संवेदनशील र ६ सय ५८ मतदान केन्द्रलाई सामान्य अवस्थामा राखेर सुरक्षा परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए ।
प्रदेशमा साढे १७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छन् । निर्वाचनलाई शान्तिपुर्ण रूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर १७ हजार ८ सय ५९ सुरक्षाकर्मी परिचालन गरिएको सूचना अधिकारी रावलले बताए । निर्वाचनका बेला एक सय ७७ वटा मोबाइल टोली परिचालित हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सूचना अधिकारी रावलका अनुसार निर्वाचनका दिन २० वटा रिजर्भ टिम तयार पारी सो टिमलाई आवश्यकता अनुसार परिचालन गरिने छ ।
रावलका अनुसार निर्वाचनको दिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित म्यादी प्रहरी फरक–फरक ठाउँमा तैनाथ हुनेछन् । सूचना अधिकारी रावलका अनुसार निर्वाचनका लागि कैलालीमा दुई हजार आठ सय १२, कञ्चनपुरमा एक हजार छ सय ३२, बाजुरामा सात सय ४९, डोटीमा नौ सय ५३, डडेल्धुरामा नौ सय ३७, अछाममा एक हजार दुई सय ६८ म्यादी प्रहरी परिचालन गरिएका छन् । त्यसैगरी बझाङमा एक हजार एक सय ८८, दार्चुलामा आठ सय २९ र बैतडीमा एक हजार एक सय ९१ म्यादी प्रहरी परिचालन गरिएको छन् ।
सम्बन्धित पाेस्टहरु