काठमाडौं २ बाट २७ बर्षीया सोविता निर्वाचित

काठमाडौं : प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो सिट पनि सुरक्षित गरेको छ । काठमाडौं क्षेत्र नम्बर २ बाट सोविता गौतमले जित निकालेसँगै रास्वपाको प्रतिनिधि सभामा दुई सदस्यको सिट सुरक्षित भइसकेको हो । यसअघि काठमाडौं क्षेत्र नम्बर ८ बाट यही पार्टीका विराजभक्त श्रेष्ठ पनि निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगले दिएको जानकारीअनुसार गौतमले ३५ सयभन्दा बढी मतले यहाँ जित निकालेकी हुन् ।

उनले १५२२९ मत ल्याउँदा नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत पाए । यही क्षेत्रमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीमगर चौथो नम्बरमा रहिन् । उनले ९४४८ मत ल्याएकी छिन् ।

राप्रपाकी कुन्तिदेवी पोखरेलले यो क्षेत्रमा ११४१४ मत ल्याइन् । निर्वाचित सोविता २७ वर्षकी हुन् । यस पटकको प्रतिनिधि सभामा सम्भवतः उनी सबैभन्दा कान्छो सदस्य हुनेछिन् । यसअघि मुस्ताङबाट नेपाली कांग्रेसका २९ वर्षका योगेश थकाली पनि प्रतिनिधि सभामा निर्वाचित भइसकेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.