२८ वर्षमा भत्कियो एमालेको गढ, कार्यकर्ताले लगाइदिए २८ किलोको माला

पोखरा : नेपाली कांग्रेसको राष्ट्रिय राजनीतिमा तनहुँ जहिले हाबी हुन्छ। बिपी कोइरालाको पालादेखि नै रामचन्द्र पौडेल गोविन्दराज जोशीको बलियो उपस्थिति थियो। पछिल्लो पुस्ताका प्रदीप पौडेलले पनि कांग्रेसका प्रभाव जमाइरहेका छन्। र, पनि तनहुँ २ मा कांग्रेस कमजोर सावित भइरहन्छ। एमालेको गढ तनहुँ २ (साविकको ३) मा यसपालि भने भत्किएको छ। २८ वर्षपछि एमालेको गढ भत्काएर कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले इतिहास रचेका छन्।

भण्डारीले एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङलाई ५ हजार ४७४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा गुरुङले २५ हजार १३० मत ल्याए। १ लाख २५ हजार ५ मतदाता रहेको यो क्षेत्रमा ६७ हजार ८१७ मत खसेको थियो।

राज्य पुनःसंरचनासँगै म्याग्दे र ऋषिङ गाउँपालिका मिसाएर साविकको तनहुँ क्षेत्र नम्बर ३ लाई क्षेत्र नम्बर २ कायम गरियो। त्यतिबेला तनहुुँ २ मा पर्ने छाङ, जामुने, मनपाङ गाविसलाई म्याग्दे गाउँपालिका र काँहुशिवपुर, भीरकोट, बैदी, राम्जाकोट, कोटदरबार र ऋषिङ रानीपोखरी गाविसलाई ऋषिङ गाउँपालिका कायम गरिएको छ। तनहुुँ ३ मा ०४८ सालमा एमालेका किरण गुरुङले कांग्रेसका पदमबहादुर आलेलाई १ हजार ६६२ मतको अन्तरमा पराजित गरेका थिए।

०५१ सालको मध्यावधि निर्वाचनमा एमालेका टुकराज सिग्देललाई कांग्रेसका अमरराज कैनीले पराजित गरे। कैनी त्यतिबेला यो क्षेत्रमा टुरिस्ट उम्मेदवार थिए। संयोग नै मान्नुपर्छ यसपालि विजयी भएका कांग्रेसका भण्डारी पनि टुरिस्ट उम्मेदवार हुन्। उनको मतदाता नामावली तनहुँ २ मा छैन। तनहुँ १ अन्तर्गत भानु नगरपालिका–९ पुर्कोटका भण्डारीको मतदाता नामावली पुर्कोट क्याम्पसको मतदान केन्द्रको छ। ०५६ मा एमालेका टुकराज सिग्देलले कांग्रेसका विष्णुवीर आलेलाई पराजित गरे। ०६४ मा एमालेका किरण गुरुङले कांग्रेसका ताराराज रानालाई र ०७० मा टुकराजले कांग्रेसका जितप्रकाश आलेलाई पराजित गर्दै एमालेको किल्ला बनाउन सफल भए। ०७४ को निर्वाचनमा पनि एमालेका केदार सिग्देलले कांग्रेसका शंकर भण्डारीलाई पराजित गर्दै एमालेलाई दरो बनाएका थिए। सिग्देलसँग भण्डारी ३ हजार २७९ मतान्तरले पराजित भएका हुन्। सिग्देलले ३२ हजार ९२४ र भण्डारीले २९ हजार ६४५ मत पाएका थिए।

भण्डारी ०७० सालको संविधानसभा सदस्य निर्वाचनमा तनहुँ १ बाट निर्वाचित हुँदै संसद् छिरेका थिए। प्रधानमन्त्री देउवानिकट मानिने भण्डारी यसपालि तनहुँ १ बाट रामचन्द्र पौडेल लड्ने भएपछि तनहुँ २ मा आएका हुन्। दोस्रो प्रयासमा तनहुँ २ को २८ बर्से इतिहासलाई भण्डारीले उल्टाउँदै जित दर्ता गराएका छन्। २८ वर्षमा एमालेको गढ भत्काएका भण्डारीलाई कार्यकर्ताले २८ किलोको माला लगाइदिएर बधाई दिएका छन्। कांग्रेसनिकट व्यवसायी निरबहादुर पुनले भण्डारीलाई बुधबार २८ किलोको माला लगाइदिएका हुन्। जुन तस्बिर सामाजिक सञ्जालमा भाइरल छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.