रेशम चौधरी जेलमा बुवा र श्रीमती संसदमा

अत्तरिया : बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ बाट लालवीर चौधरी प्रतिनिधिसभा सदस्य निर्वाचित भए । यस क्षेत्रबाट लालवीरका छोरा रेशमको पनि उम्मेदवारी परेको थियो ।

लामो समयदेखि कर्णाली नदीबाट सिँचाइका लागि निकालिएका कुलाहरुको उपभोक्ता समूहका अध्यक्ष रहेका र एमालेबाट ०७४ मा कैलाली १ को ९क० प्रदेश सभा सदस्यको उम्मेदवार बनेका लालवीर यसपटक बर्दियाबाट स्वतन्त्र चुनाव लडेका हुन् ।

जेलमै रहेका रेशमले वारेसनामामार्फत बर्दिया २ मा दर्ता गरेको उम्मेदवारी उजुरी परेपछि रद्ध भएको थियो । रेशमको उम्मेदवारी रद्ध भएपछि नागरिक उन्मुक्तिको समर्थनमा लालवीर प्रतिनिधि सदस्य निर्वाचित भएका हुन् । रेशमको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले लालवीरलाई सहयोग गर्ने बताएको थियो । बर्दियाबाट निर्वाचित भए पनि लालवीरको घर कैलालीको टीकापुर हो ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाट रन्जिता श्रेष्ठ चौधरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् । रञ्जिताको घर पनि टीकापुर नै हो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित लालवीर र रञ्जिताको घर पनि एउटै हो । अर्थात् लालवीर र रञ्जिता ससुरा बुहारी हुन् । लालवीर ०७४ मा भूमिगत रुपमा नै टीकापुर–१ बाट चुनाव लडेर प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी भएका रेशम चौधरीका बुवा हुन् भने रञ्जिता श्रीमती ।

रञ्जिता पहिचानको मुद्दा स्थापित गर्न र टीकापुर घटनालाई राजनीतिक मुद्दाका रुपमा लिएर स्थापित गर्न स्थापना भएको नागरिक उन्मुक्ति पार्टीबाट नै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

०७४ मा भारी मतान्तरले प्रतिनिधिसभा सदस्य निर्वाचित भए पनि रेशमले जेलमा नै रहेर शपथ पनि लिन नपाएपछि यसपटक कैलाली १ बाट रञ्जिता चुनाव लडेकी हुन् ।रञ्जिताले निकटतम प्रतिस्पर्धी कांग्रेसका रामजनम चौधरीलाई ठूलो अन्तरले पराजित गरेकी छन् ।

चुनाव यसपटक लडे पनि रञ्जिताले गत पुसमा नागरिक उन्मुक्ति पार्टीको स्थापना गरेर वैशाखमा भएको पालिकाको निर्वाचनमा पार्टीको सहभागिता गराएकी थिइन् । उक्त चुनावमा नागरिक उन्मुक्तिले कैलालीको पूर्वी क्षेत्रका टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउपालिकामा बहुसंख्यक सिटमा जित हासिल गरेको थियो ।

रञ्जिताले ०७४ भूमिगत रहेका आफ्ना श्रीमान् रेशमलाई विजयी बनाउन गाउँगाउँमा चुनावी अभियानको नेतृत्व गरेकी थिइन् । टीकापुर घटनामा दोषी बनाएपछि भूमिगत रहेका आफ्ना श्रीमान् रेशमको वारेस बोकेर प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएकी थिइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.