अत्तरिया : मंसिर ४ गते स्थगित भएको बाजुराको बुढीनन्दा नगरपालिका ५ नन्देश्वरी माबि मतदान केन्द्रमा मतदान जारी रहेको छ । नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच दोहोरो झडपछि मतदान स्थगित गरीएको थियो । कडा सुरक्षाका साथ मतदान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विहान ७ बजे सुरु भएको मतदानमा सय जना बढीले मतदान गरी सकेको जनाएको छ ।
मतादान केन्द्रमा नेपाल प्रहरी शसस्त्र प्रहरी नेपाली सेना गरि ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सुर्यबहादुर थापाले जानकारी दिए ।
त्यस्तै, बाजुराका अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी परेको छ । विवादित बनेको बुढीगंगा, बुढीनन्दा, त्रिवेणी नगरपालिका र गौमुल, जगन्नाथ, खप्तड छेडेदह, हिमाली, स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको हो । घटनाको वस्तुस्थिति बुझ्न निर्वाचन आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली बाजुरा पठाएको छ । टोलीले बुझाउने प्रतिवेदनका आधारमा आयोगले निर्णय लिने बताइएको छ । त्रिवेणी नगरपालिकामा मतदानको क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक र दोहोरो भीडन्तमा एक गरी दुई जनाको मृत्यु भएको थियो । उक्त घटनाको राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गर्दैछ ।
सम्बन्धित पाेस्टहरु