जितपछि धन्यावाद दिन गाउँमै फर्किए नेता

अत्तरिया : प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन अघि गाउँमा भोट माग्न पुगेका नेता तथा कार्यकर्ताहरू निर्वाचनको मतपरिणामपछि पनि गाउँमै फर्किएका छन्। निर्वाचनमा जितेका प्रतिनिधि गाउँमा मतदातालाई धन्यावाद दिन तथा आभार व्यक्त गर्न गाउँ छिरेका छन्।

निर्वाचनको मतपरिणामपछि मतदातालाई धन्यवाद दिन आफू गाउँमै रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका वीरबहादुर बलायरले बताए। उनले भने, ‘नेताले जितेपछि गाउँ फर्किदैनन् भन्ने आम मतदाताको गुनासो चिर्न अहिले गाउँघरमै छु।’ निर्वाचनको मत परिणाम आएको दिनदेखि नै आफू कैलाली क्षेत्र नम्बर ४ को गाउँघरमै मतदातामाझ आभार प्रकट गर्न र धन्यवाद दिन गएको उनले बताए।

कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य पदमा विजयी डिल्लीराज पन्त पनि धनगढीका सबै वडामा छिरेका छन्। उनी लोकतान्त्रिक–वाम गठसाझा उम्मेदवारबाट प्रदेश सभा सदस्य पदमा विजयी नेकपा माओवादीका रमेश धामीलाई लिएर गाउँगाउँमा छिरेका हुन्। आफूले सपथ लिएपछि पटकपटक आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने र यहाँका समस्या समाधान गर्न केन्द्रस्तरको योजना ल्याउने उनले बताए। निर्वाचनमा विजयी भएपछि आफू पनि गाउँमै रहेको कैलाली क्षेत्र नम्बर ४ को प्रदेश ‘ख’मा विजयी प्रकाशबहादुर बमले बताए।

यसअघिका नेताहरू चुनाव अघि भोट माग्न गाउँ आउने गरे पनि जितेपछि नफर्कने गरेको गौरीगंगा नगरपालिका–७, मट्कौनाका रणबहादुर बमले बताए। चुनाव जितेपछि पाँच वर्षपछि मात्रै पुनः निर्वाचनका बेला भोट माग्न नेताहरू गाउँ फर्कने गरेको बताउँदै उनले भने,‘यसपालिका निर्वाचित प्रतिनिधिहरू भने चुनाव जित्नबित्तिकै गाउँ फर्केका छन्।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.