जाजरकोट, २६ मंसिर : जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो चालक मानबहादुर रावतले चलाएको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा आफैँ अनियन्त्रित भएर २०० मिटर तल खसेको हो ।
साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जिप दुर्घटना भएको हो । प्रहरीका अनुसार ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । घाइते छेडागाड– २ का जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका– २ दैलेख घर भएको जिप चालक समेत रहेका मानबहादुर रावत, भगवतीमाई गाउँपालिका दैलेखका अम्मर बहादुर खड्का, भगवतीमाई–३ दैलेख का सुरेन्द्र केसी, छेडागाड नगरपालिका–६ जाजरकोट का वीर बहादुर खत्री, छेडागाड ५ जाजरकोट का जयकुमार बुढा, छेडागाड ५ जाजरकोट का नैसरा अधिकारी, छेडागाड ६ जाजरकोट राम बहादुर बुढा, छेडागाड ५ जाजरकोट दीपक अधिकारी, छेडागाड ५ जाजरकोट का देवीसरा बुढा, छेडागाड ५ जाजरकोट का अम्मर बहादुर अधिकारी र छेडागाड जाजरकोटका निशा अधिकारी रहेका छन् ।