धनगढी, २ पुस : काठमाडौं महानगरपालिकाले डोटीका भूकम्प पीडितलाई १० लाख सहयोग प्रदान गरेको छ । महानगरले विपद व्यवस्थापन अन्तर्गतको बजेटबाट १० लाख रुपैयाँ सहयोग गरेको हो । कात्तिक २३ गते गएको भूकम्पले त्रिपालमा रात काट्न बाध्य भएपछि सहयोग माग्दै पीडितहरू महानगरपालिकाका प्रमुख बालेन शाहसँग भेट्न गएका थिए । यसरी पीडितहरू भेट्न आएपछि महानगरले आर्थिक सहयोग गरेको हो ।
‘महानगरको विपद व्यवस्थापन अन्तर्गतको बजेटबाट १० लाख रुपैयाँ सहयोग गाउँपालिकालाई गरेका थियौं । यो भन्दा धेरै गर्न हाम्रा आफ्नै सीमाहरू छन्,’ उनले भनेका छन् । यसरी सहयोग गरेकोबारे उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । डोटीमा कात्तिक २३ गते गएको ६.६ रेक्टर स्केलको भूकम्पले ३८ सय घर–टहरा भत्काएको स्थानीय गाउँपालिकाको तथ्यांक छ ।
परालको टहरा बनाएर बसेको स्थानमा चितुवा आक्रमणमा मान्छेको मृत्यु भएको कुरा पीडितले शाहलाई भनेका थिए। ‘चितुवाको डर छदैछ, त्यसमाथि पुस महिनाको जाडो बढेको छ । हिउँ पर्न सुरू भए थप समस्या आउने देखिन्छ,’ पिडितहरूले शाहसँग भनेका थिए । राज्य संयन्त्र, सम्बन्धित मन्त्रालय, सांसद, सरकारी तथा गैरसरकारी संस्था लगायतले पनि पीडितहरूलाई सहयोग गर्न शाहले अनुरोध गरेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको टोली आउने भनेपनि भूकम्प गएको लामो समय बित्दा पनि नआएको पीडितको गुनासो छ । प्राधिकरणको टोली छिटो आउने भन्दै पटकपटक ढाँटेको पीडितहरूले आरोप लगाएका छन् । उनीहरूले घर पुनर्निर्माण छिटो गर्नुपर्ने माग राखेका छन् । ९ सय ६३ जना भूकम्प पीडित चिसो शित–लहरमा त्रिपालमा कठ्यांग्रिएर बस्न बाध्य छन् । आंशिक तथा पूर्णरूपमा घर क्षति भएकाहरू नेपाल रेडक्रस, गाउँपालिका तथा विभिन्न संघ–संस्थाको सहयोगमा पाएका त्रिपालमुनि बसिरहेका छन् ।
पूर्वीचौकी गाउँपालिका रोजगार शाखाका प्रमुख हरिभक्त साउँदका अनुसार केन्द्रबाट राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको टोली आएपछि भूकम्प प्रभावितहरूको दीर्घकालीन व्यवस्थाबारे काम हुनेछ । उनले गाउँपालिकाबाट भूकम्प प्रभावितहरूको सम्पूर्ण विवरण संकलन गरेर तयार अवस्थामा राखेको तर केन्द्रबाट प्राधिकरणको टोली अहिलेसम्म नआएको बताए । उनले टोली आएपछि गाउँपालिकाबाट पनि हुने थप सहयोगका काम अगाडि बढ्ने बताए ।
सम्बन्धित पाेस्टहरु