बैतडी, ४ पुस : बैतडीको पाटनस्थित कृष्ण माध्यमिक विद्यालयका शिक्षक धन बहादुर बिष्टको हत्या गरिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन ।
बिष्ट कार्यरत कृष्ण माध्यमिक विद्यालय र पाटन बहुमुखी क्याम्पसका विद्यार्थीहरु सोमबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले शिक्षक बिष्टको हत्या गरिएको भन्दै सत्यसत्थ्य छानविनको माग गरेका छन् । तीन दिन अघि लडेर मृत्यु भएको भनिएका बिष्टको शरीरका विभिन्न भागमा घाउ चोट भएकाले हत्या भएको आफन्तको दाबी छ । ‘दात र नाक भाचिएको छ, छाती, अनुहार सबैतिर कुटपिट गरेजस्तै घाउ छ,’ बिष्टका आफन्त लोकेन्द्र बिष्टले भने, ‘लडेको मात्र भए यति धेरै चोटपटक हुन सक्दैन ।
बिष्टका आफन्तहरुले शव बुझ्न मानेका छैनन् भने विद्यार्थीहरुले आन्दोलनमा उत्रिदै प्रहरीलाई हत्याको छानबिन गरि सत्यतथ्य कुरा बाहिर ल्याउन माग गरेका छन् । शनिबार दिउसो कृष्ण माध्यमिक विद्यालयको छात्रवास पछाडिको ३० मिटर तल मृत अवस्थामा फेला परेका बिष्ट २०४८ साल देखि कृष्ण माविमा अध्यापन गराउदै आएका थिए ।