अत्तरिया : नेपाल चिकित्सक संघको कोषाध्यक्ष पदमा डा. प्रमोद जोशी निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा उम्मेदवारी दिएकी प्रगतिशील समूहकी डा. अन्जना महर्जनको निर्वाचनका लागि तोकिएको योग्यता नपुगेपछि उम्मेदवारी नै खारेज भएको छ । डा. महर्जनको उम्मेदवारी खारेज भएसँगै कोषाध्यक्षमा प्रजातान्त्रिक समूहका डा. जोशी मात्र उम्मेदवार भएका छन् । उनको प्रतिस्पर्धी कोही नभएपछि उनी पनि निर्विरोध भएका हुन् ।
संघको पदाधिकारीमा उम्मेदवार हुनका लागि सदस्य लिएको सात वर्ष पुगेको हुनुपर्छ । महर्जनले सदस्य लिएको अवधि सात वर्ष पुग्न १६ दिन बाँकी नै रहेकाले उम्मेदवारी रद्द भएको हो
यसअघि प्रजातान्त्रिक प्यानलकै पाँच जना निर्विरोध भएका छन्। संघको वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सह–कोषाध्यक्ष र सह–सचिवमा निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा डा वद्री रिजाल, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा .नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा. केशरबहादुर ढकाल, सहकोषाध्यक्षमा डा विक्रान्त ढकाल र सहसचिवमा डा. लिजन महर्जन निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र मतदान हुँदैछ ।