अत्तरिया, ९ पुस : एसओएस बालग्राम धनगढीको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । धनगढीको गेटा स्थित एसओस बालग्राममा आयोजित सामाजिक परिक्षण कार्यक्रमका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेले असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई शिक्षा, दिक्षा र आश्रय दिएर एसओएसले राज्यलाई ठूलो गुन लगाएको बताए ।
एसओएसले अभिभावक गुमाएका तथा आर्थिक अवस्था कमजोर भएका कारण पढ्नबाट बञ्चित बालबालिकाहरुलाई शिक्षा, दिक्षा र आश्रय दिएर राज्यले गर्नुपर्ने कार्य गरेको भन्दै प्रशंसा गरे । उनले प्रदेश सरकारले असहाय तथा अपांगता भएका बालबालिकाहरुका लागि निशुल्क शिक्षाको व्यवस्था गर्न आवासीय विद्यालय खोल्न बजेट बिनियोजन गरेको जानकारी दिए ।
बिशिष्ट अतिथि धनगढी उपमहानगरपालिकाका युवा तथा खेलकुद शाखाका प्रमुख नरेन्द्र बहादुर खातीले एसओएसले अनाथ, असहाय तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई शिक्षा र अवसर सहित समाजमा सम्मानजनक पुनस्र्थापनाका लागि खेलेको भूमिका सह्रानीय भएको बताए । उनले धनगढी उपमहानगरपालिकाले एसओएस बालग्रामसंग आवश्यक सहकार्य र सहयोग गर्ने प्रतिबद्धता गरे ।
कार्यक्रममा कैलाली बाल संगठनका अध्यक्ष चुडामणी भट्टले राज्यले गर्नुपर्ने दायित्व एसओएस बालग्रामले गरेको बताए । युएनडीपी धनगढीकी प्रमुख बैजयन्ती गिरी सिंहले एसओएस बालग्रामले अभिभावक गुमाएका तथा आर्थिक अवस्था कमजोर भएका कारण पढ्नबाट बञ्चित बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा र अवसर प्रदान गर्दै आएकोमा मुक्त कण्ठले प्रशंसा गरिन । उनले आफू पनि त्यस्ता बालबालिकाहरुको शिक्षाका लागि सहयोग गर्न ईच्छुक रहेकोले सहयोग गर्ने बिधि र प्रकृयाका बारेमा जानकारी दिन एसओएस बालग्रामलाई आग्रह गरिन ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका अधिकृत लेखनाथ ओझाले एसओएस बालग्राम आर्थिक अवस्था, एसओएस बालग्रामले प्रदान गर्दै आएको सेवासुबिधा र बालग्रामको समग्र अवस्था प्रस्तुत गरेका थिए । एसओएस बालग्राम धनगढीले परिवारमा आधारित हेरचाह अन्तर्गत एक सय नौ जना, समुदायमा आधारित परिवार सवलीकरण कार्यक्रम मार्फत एक सय तीन जना र आफन्तद्घारा हेरचाह कार्यक्रम अन्तर्गत ४५ जना सहित कुल एक सय ४८ जना बालबालिकाहरु र युवाग्राम मार्फत ३८ जना युवायुवतीहरुलाई सेवा प्रदान गर्दै आएको कार्यक्रममा जानकारी दिईएको थियो ।
एसओएस बालग्राम धनगढीका निमित्त निर्देशक रमेश कुमार भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एक्सिस विद्याश्रमकी प्राचार्य अनिता पन्त लगायतका वक्ताहरुले एसओएस बालग्रामले अभिभावक गुमाएका तथा आर्थिक अवस्था कमजोर भएका कारण पढ्नबाट बञ्चित बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा र अवसर प्रदान गरेकोमा प्रशंसा गरेका थिए । एसओएस बालग्राम धनगढीले २०२१ मा सञ्चालन गरेका गतिबिधिका बारेमा सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्यले सामाजिक परिक्षण कार्यक्रम आयोजना गरेको हो । एसओएसले हरेक वर्ष सामाजिक परिक्षण कार्यक्रम आयोजना गर्ने गरेको छ । आमाबुवाको काख गुमाएका र कमजोर आर्थिक अवस्थाका कारण जीवनका आधारभूत आवश्यकताबाट बञ्चित बालबालबालिकाको शिक्षा, दिक्षा र उनीहरुको सम्मानजनक पुनस्र्थापनाका लागि बिगत ४९ वर्षदेखि कार्यरत एसओएसको १० औं शाखा धनगढीको गेटामा सञ्चालनमा छ ।
सम्बन्धित पाेस्टहरु