धनगढी, ११ पुस : कैलालीमाको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको सुप समावेशी आधारभुत विद्यालयको दुई कोठे पक्कि भवनको आईतबार नगरप्रमुख विरेन्द्र भट्टले शिलान्यास गरेका छन् । अपांगता भएका बालबालिकाहरु अध्ययनरत उक्त विद्यालयमा निर्माण भैरहेको नयाँ भवनले विद्यार्थीको पठनपाठनमा सहजता प्रदान गर्ने नगरप्रमुख भट्टले बताए ।
उनले अपांगता भएका बालबालिकाहरुलाई आवाससहितको सुविधा प्रदान गर्दै आईरहेकाले विद्यालयलाई भवनको अभाव भएपछि आफुले भवन निर्माणका लागी पहल गरेको बताए । उनले प्रदेशकै एकमात्र अपांगतामैत्री तथा समावेशी विद्यालय भएकाले उक्त विद्यालयलाई सुदूरपश्चिमकै नमुना विद्यालयका रुपमा विकास गर्न सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए। उनले आफु निर्वाचित भएलगत्तै विद्यालयको अनुगमनमा आएको र यहाँको मुख्य समस्या नै भवन देखेपछि प्रदेश सरकारसँग समन्वय गरि भवन निर्माण सुरु गरेको बताए । उनले निर्माण भैरहेको विद्यालय अपांगमैत्री हुनुपर्ने भन्दै विद्यार्थीहरुको भावनालाई बुझेर भवन निर्माण गर्न आग्रह गरे। उनले नगरपालिकाबाट विद्यालयलाई आवश्यक सहयोग गर्न आफु हरदम तयार रहेको बताएका छन् ।