अत्तरिया : पाँच महिना अगाडि सञ्चारकर्मी रवि लामिछानेले टेलिभिजन पत्रकारिता छोडिसकेका थिए । आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर संगठन विस्तारका लागि देश दौडाहाका क्रममा साउन दोस्रो साता उनी कञ्चनपुर पुगे ।
कञ्चनपुरमा रहँदा उनले बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीलाई घरमै गएर भेटे । दुर्गादेवीलाई लामिछानेले आफू सञ्चारकर्मी छोडेर राजनीतिमा आए पनि निर्मलाको न्यायका लागि आवाज उठाउन नछोड्ने प्रतिवद्धता जनाएका थिए । ‘म थाकेको छैन, सञ्चारकर्मीमा रहँदा आफ्नो क्षमताले भ्याएसम्म निर्मलाको न्यायका लागि लागिपरेको हो, अहिले बाटो फेरेँ, वाचा फेरेको छैन, राजनीतिमा आउँदा पनि यसलाई प्राथमिकतामा राखेको छु । आफ्नो क्षमताले भ्याएसम्म निर्मलालाई न्याय दिलाउन लागिरहन्छु,’ लामिछानेले दुर्गादेवीलाई भनेका थिए । निर्मला प्रकरणमा चर्चा र आलोचनामा आइरहने पात्रमध्ये लामिछाने पनि एक हुन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पूरा भइसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन । सुरुवातमा प्रहरीले घटनाको अनुसन्धानमा कमजोरी गर्दा घटना निकै गिजोलिन पुगेको छ । १० साउन २०७५ मा विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय उखुबारीमा भेटिएकी थिइन् ।
यस्तो जघन्य अपराध भएको ४ वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन । निर्मलाको शव भेटिएको दिनदेखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म ठोस तथ्य पत्ता लगाउन सकेको छैन । सञ्चारकर्मी हुँदा निर्मला प्रकरणमा चर्चा र आलोचनामा आइरहने लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको करिब ६ महिनामै चौथो शक्तिका रुपमा स्थापित भएको छ । त्यति मात्रै होइन, नेकपा एमालेको नेतृत्वको गठबन्धनमा सामेल हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा पनि सहभागी भएको छ ।
लामिछाने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा गृहमन्त्री भएका छन् । गृहमन्त्रीको पदभार ग्रहण गर्दै उनले सोमबार पहिलो निर्णय गरे– निर्मला पन्तलाई न्याय दिन पहल गर्ने । यो सँगै निर्मला प्रकरण एकपटक फेरि चर्चामा आएको छ । रवि अपराधको अनुसन्धान गर्ने नेपाल प्रहरीलाई चलाउने मन्त्रालय हाँक्न पुग्दा निर्मलाले न्याय पाउने आशा जगाएको छ । छोरी निर्मलाको न्यायको पर्खाइमा रहेकी दुर्गादेवी आशावादी देखिएकी छन् । लामिछाने गृहमन्त्री भएपछि छोरीले न्याय पाउने आशा जागेको उनी बताउँछिन् । लामिछानेलाई चार वर्षदेखि गिजोलिएको घटनाका अपराधीलाई कानूनी कठघरामा उभ्याउने चुनौती पनि छ । घटना पछि मात्रै देशले चार वटा गृहमन्त्री पाएको छ । निर्मलाको बलात्कार भएको समयमा तत्कालीन माओवादीका रामबहादुर थापा (बादल) गृहमन्त्री थिए । त्यसपछि एमालेका खगराज अधिकारी, कांग्रेसका बालकृष्ण खाँण हुँदै अहिले लामिछाने गृह मन्त्रालय हाँक्न पुगेका छन् । त्यतिकै संख्यामा प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख पनि फेरिएका छन् । सयौँ शंकास्पदमाथि प्रहरीले अनुसन्धान गरेर उनीहरुको डीएनए पनि परीक्षण गरेको छ । तर अहिलेसम्म घटनामा संलग्न अपराधी पक्राउ परेका छैनन् । आफ्नो कार्यकालमा निर्मला प्रकरण सुल्झाउन लामिछानेलाई ‘फलामको चिउरा चपाए’ सरह हुने टिप्पणी भइरहेका छन् ।