अत्तरिया : सुदूरपश्चिमका दुई तराई जिल्ला कैलाली र कञ्चनपुरमा शितलहरसंगै कुहिरो बढिरहेको छ । केही दिनदेखि कैलाली र कञ्चनपुरमा दिनभरी जसो बाक्लो कुहिरो लाग्ने गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलाली तथा कञ्चनपुरसहित पश्चिम तराईका धेरै स्थानमा कुहिरोले प्रभावित गरेको छ । महाशाखाले विहान ८ बजेर ४५ मिनेटमा जारी गरेको मौसमी अवस्थामा धनगढीमा न्यूनतम तापक्रम नौ डिग्री छ । सोमबार धनगढीको न्यूनतम तापक्रम सात दशमलब पाँच डिग्री थियो ।
धनगढीमा मंगलबार न्यूनतम तापक्रममा केही सुधार भएपनि बाक्लो कुहिरो भने बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीमा दृष्यात्मक (पारदर्शिता) शून्य दशमलब एक माईल रहेको छ । एक किलोमिटर भन्दा कम पारदर्शिता हुँदा कुहिरो र त्यसभन्दा बढी पारदर्शिता हुँदा हुस्सु लाग्ने संभावना धेरै रहने महाशाखाको भनाई छ ।
धनगढीमा सोमबार हुस्सु तथा कुहिरोको प्रभाव थिएन । महाशाखाका अनुसार पारदर्शिता छ हजार माईल रहेको थियो । महाशाखाले हुस्सु मध्यान्हपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको उल्लेख गरेको छ ।
‘बिहानको समयमा देशको पश्चिम तराईका धेरै स्थानहरुमा साथै मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा हुस्सु तथा कुहिरो लागेको छ र मध्यान्न पछि क्रमिक रुपमा सुधार हुँदै जाने देखिन्छ । चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु हुन समेत अनुरोध छ’ महाशाखाले विज्ञप्ती जारी गर्दै भनेको छ ।
महाशाखाले जारी गरेको तीन दिने बुलेटिनमा पनि अझै तराईका जिल्लामा हुस्सु तथा कुहिरोको प्रभाव कायम रहेकाले सावधानी अपनाउनुपर्ने छ । कुहिरो, हुस्सु तथा शितलहरका कारण कैलालीको जनजिवन प्रभावित भएको छ । एकाएक ह्वात्तै जाडो बढेकाले चिसोको कारण हुने रोगको प्रकोप फैलिन सक्ने देखिएको छ । चिसो मौसममा दम, रुघाखोकी, ज्वरो, निमोनियाको प्रकोप फैलिने गर्दछ ।
कैलालीमा चिसो बढ्दै गएपनि स्थानिय प्रशासन तथा सरोकारवालाहरुले आम नागरिकलाई चिसोबाट बचाउने गरि कार्यक्रम अघि बढाउन सकेका छैनन् । चिसोका कारण सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका तथा अति विपन्न घरपरिवार प्रभावित हुने गरेका छन् । विगतमा स्थानीय सरकारहरुले न्यानो कपडा वितरण, चोक–चोकमा दाउरा वितरण लगायतका काम गरेपनि पछिल्लो समय यस्ता कार्यक्रमले निरन्तरता पाउन सकेको छैन । डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुलीले चिसो बढेमा वनको आपुर्तिमा आवश्यकता अनुसार दाउरा मौज्दात रहेको बताए । उनले स्थानीय तहहरुले माग गरेमा उपलब्ध गराउन सक्ने बताए । उनले भने –‘यद्यपी अहिलेसम्म कुनै स्थानीय तहबाट दाउरा माग भएको छैन् ।’
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक पनि अहिलेसम्म बस्न नसकेको जनाइएको छ । चिसोबाट कसैको मृत्यु हुन नदिन आवश्यक सर्तकताका कार्यक्रम अघि बढाउन निर्देशन दिने सो समितिको बैठक आह्वान हुन नसकेको जनाइएको छ । कैलालीमा चिसोकै कारण सन् २००३ देखि २०१७ को अवधिमा पहलमानपुर, दरख, बलिया, निगाली र सहजपुरका गरी ११ जनाको मृत्यु भएको तथ्यांक रहेको छ ।
कैलालीमा सबैभन्दा बढी सन् २०१३ मा चिसोका कारण मृत्यु भएको छ । सन् २०१३ मा कैलालीको पहलमानपुरमा चिसोका कारण तीन जनाको मृत्यु भएको थियो भने सन् २००३ मा चिसोका कारण दुई जनाको मृत्यु भएको थियो । सन् २०१४ देखि सन् २०२२ को अवधिमा कैलालीमा चिसोका कारण कुनै व्यक्तिको मृत्यु नभए पनि जोखिम भने यथावत रहेको विज्ञहरू बताउँछन् ।