
अत्तरिया : अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको आज १२ औँ दिन चर्चित लोक दोहोरी गायक कुलेन्द्र विक , लोक पप तथा देउडा गायक सुरेश चोखाल र गायक गणेश चौतारी आउँदै छन् ।
अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा गोदावरी नगरपालिका २ स्थित लामीताल परिसरमा जारी सातौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७९ मा आज १२ औँ दिन उनीहरुको बेजोड प्रस्तुती सहित स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले बताए ।
शनिबार चर्चित लोक पप तथा देउडा गायक चक्र बम ,गायक रेश बि।सी र नृत्यङ्गना लक्ष्मी सुनारले आफ्नो बेजोड प्रस्तुती राखेका थिए। महोत्सवमा सर्वसाधारणका लागि ८० रुपैयाँ र विद्यार्थीहरुको लागि ५० रुपैयाँ टिकट कायम गरिएको आयोजकले जनाएको छ । महोत्सवको विशेष आकर्षणका रुपमा लामीतालमा डुङ्गाको व्यवस्था पनि गरिएको छ ।डेढ सय वटा स्टल रहेको महोत्सवमा बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरु रहेका छन् ।
फरक क्षमता भएका व्यक्तिहरु,जेष्ठ नागरिक तथा एकल महिलाका लागि भने महोत्सव प्रवेश निःशुल्क गरिएको छ । पुस २७ गते देखि सुरु भएको महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुनेछ। प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०७२ सालदेखि हरेक वर्ष सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयोजना गरिँदै आएको छ।
