अत्तरिया : धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत पाँचौँ दिन सम्पन्न दुई वटा खेलमा लोटसआई स्कुल अत्तरिया र होली फेमिली स्कुल महेन्द्रनगर विजयी भएका छन् ।
दिनको पहिलो खेलमा लोटसआई स्कुल अत्तरियाले शारदा निकेतन तारानगरलाई ७७ रनले पराजित ग¥यो । लिटल आईले दिएको १८२ रनको लक्ष्य पछ्याएको शारदा निकेतनले १८.१ ओभरमा १०५ रनमा सबै विकेट गुमायो ।
लोटसआईको बलिङमा देब्रे हाते स्पिनर नरेन साउदले ४ विकेट लिए । प्लेयर अफ द म्याच घोषित साउदले ४ ओभरमा २ मेडन ओभर राख्दै १७ रन खर्चिए । सन्तोष बिजलीले २ तथा वीरेन्द्र नाथ र सुरेश रिजालले १\१ विकेट लिए । यस अघि टस जितेर ब्याटिङ गरेको लोटस आईले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १८१ रन बनायो ।
लोटसआईको लागि योगेश भाटले सर्वाधिक ३८ रन बनाए भने आयुब चन्दले ३४, लक्की कडायत र नरेन साउदले समान २६ प्रदीप चन्दले २२ रन बनाए । पाँचौँ विकेटको लागि योगेश र नरेनले ६ ओभरमा ७४ रनको साझेदारी गरे । शारदा निकेतनका बलर नागराज सिंह, अशोक धामी, दीपक रोकाया र राजेन्द्र साउदले १\१ विकेट लिए ।
दिनको दोस्रो खेलमा होली फेमिली स्कुल महेन्द्रनगरले नव बल बाटिका स्कुल कैलालीलाई ३ विकेटले पराजित ग¥यो । नव बल बाटिकाले दिएको ११६ रनको लक्ष्य होली फेमिलीले ७ विकेट गुमाएर १८.३ ओभरमा भेटायो ।
होली फेमिलीको ब्याटिङमा राहुल भण्डारीले सर्वाधिक २६ रन बनाए भने बिरेन बम र अरुण रानाले समान २३ रन बनाए । यु–१९ राष्ट्रिय क्रिकेटर समेत रहेका नव बल बाटिका स्कुलका बलर प्रकाश जैसीले ४ विकेट लिएता पनि जितको लागि पर्याप्त रहेन । यस अघि टस जितेर ब्याटिङ गरेको नव बाल बाटिकाले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा ११५ रन बनायो। उसको लागि रौनक श्रीवास्तवले सर्वाधिक २९ रन बनाए। यस्तै विराट सिंह भण्डारीले २१, रिजन थापाले १३ तथा गजेन्द्र बोहराले १२ रन बनाए ।
होली फेमिलीका बलर प्रेम ठकुराठीले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १५ रन खर्चिए । नेहाल दमाई, बिरेन बम, राहुल भण्डारी र सन्तोष बिस्टले १÷१ विकेट लिए । लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।
सम्बन्धित पाेस्टहरु