नामिबियामाथि नेपालको ऐतिहासिक जित

काठमाडौँ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत मंगलबारबाट सुरु भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गर्दे ऐतिहासिक जित निकालेको छ ।
नेपालले एकदिवसीय क्रिकेट इतिहासकै सर्वाधिक रनको लक्ष्य चेज गर्दै कीर्तिमानी जित निकालेको हो। जितसँगै नेपालले लिग अंङ्कतालिकामा २ अङ्क थप्दै २५ खेलबाट २० अङ्क बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा नेपालसामु २ सय ८६ रनको उच्च लक्ष्य प्रस्तुत गरेको थियो । जुन लक्ष्य नेपालले १४ बल अगाडि नै ८ विकेट गुमाएर पूरा गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो रन चेजको कीर्तिमान बनायो । नेपालको ऐतिहासिक जितमा कुशल भुर्तेलले शानदार इनिङ खेले । उनले करिअरको पहिलो शतकीय इनिङ खेल्दा ११३ बलमा ११५ रन बनाए । उनले आफ्नो इनिङमा १० चौका र ४ छक्का प्रहार गरेका थिए ।

त्यस्तै, नेपालको जितमा आठौं नम्बरमा आएका करण केसीले विष्फोटक ब्याटिङ गरेका थिए । उनले १२ बलमा २० रनको विष्फोटक इनिङ खेलेका थिए । उनले १ चौका र २ छक्का प्रहार गरे । नेपालका लागि विजयी रन भने सोमपाल कामीले प्रहार गरे आफ्नो पहिलो बलमा नै चौका प्रहार गर्दै सोमपालले नेपालको जित निश्चित गरेका थिए । नेपालका लागि थप स्कोरका रुपमा रोहित पौडेलले ७२ रनको अर्धशतकीय इनिङ खेले । उनले र रोहितले तेस्रो विकेटका लागि १३३ रनको साझेदारी गरेका थिए। जुन नेपालले एकदिवसीय क्रिकेटमा गरेको सर्वाधिक ठूलो साझैदारीसमेत हो । त्यस्ते सन्दीप जोराले २४ बलमा २८ रन बनाउँदा ज्ञानेन्द्र मल्ल २५ रनमा आउट भएका थिए ।

त्यसअघि टियू मैदान कीर्तिपुरमा नामिबियाले टस हारेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८५ रन बनाएको थियो । नामिबियाका लागि माइकल भान लिंगेनले आफ्नो एकदिवसीय करिअरकै उच्च रन बनाउँदै शतकीय इनिङ खेलेका थिए । उनले घरेलु टोलीविरुद्ध १ सय ३३ रन बनाए । जुन जारी विश्वकप लिग २ मा कुनै पनि ब्याटरले प्रहार गरेको सर्वाधिक दोस्रो धेरै रन हो । विश्वकप लिग–२ मा सर्वाधिक रनको कीर्तिमान भने नामिबियाकै जिन पिएरेर कोटेजका नाममा रहेको छ । उनले युएसएविरुद्ध १३६ रन प्रहार गरेका थिए ।

नामिबियाका लागि थप स्कोरका रुपमा कप्तान गेर्हाड एरासमुसले ५६ रनको अर्धशतकीय इनिङ खेल्दा जने ग्रिनले ३४ रन बनाए । नेपालका लागि करण केसीले ५ विकेट लिँदा सन्दीप लामिछानेले ३ विकेट लिएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.