Agni Offset Press

रानाथारु समुदायमा यसरी मनाउँछन् खखडेहरा पर्व

Aarati simant

अत्तरिया : हिन्दु धर्मलम्वीहरुले होली पर्व मनाएको एक साता बितेको छ । तर सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका आदिवासी रानाथारु समुदायमा मनाइने होरी (होली) पर्व आज मंगलबार विधिवत् रूपमा सकिएको छ ।
अन्य समुदायले १÷२ दिन मात्रै मनाइने होली सो समुदायले आफ्नो संस्कार अनुसार ३८ दिन होरी मनाएका हुन् । होरीको अन्तिम दिन आज भव्यताका साथ खखडेहराको रूपमा मनाउँदै होरीको विधिवत् समापन गरेका हुन् । यसै अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

रानाथारु समाजका केन्द्रीय उपाध्यक्ष कमल रानाका अनुसार रानाथारु समुदायमा चालू वर्षको माघ २२ गते पूर्णिमाको रातिदेखि होरी सुरु भएको हो । २ चरणमा होरी मनाउने प्रचलन रहेको यो समुदायले पहिलो चरण अन्तर्गत माघ पूर्णिमा (२२ गते) देखि फागुन पूर्णिमा (२२ गते) सम्मको अवधिमा जिउँदो होरी र त्यसपछिको ८ दिन मृत होरी मनाएको हो । यसरी १ महिना ८ दिनसम्म यो समुदायमा होरी मनाउने प्रचलन रहिआएको हो ।

धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका स्थानीय समेत रहेकी पूर्व प्रदेश सभा सदस्य एवं रानाथारु बुद्धिजीवी मालामति रानाले होरी मनाउने विधिबारे प्रकाश पार्दै भनिन्–‘माघ पूर्णिमाको राति गाउँको दक्षिणी सिमानामा पूजापाठ गरेर त्यहाँ ७ ओटा कन्डा (गुइँठा) छोड्छौ, त्यसपछि होरीको सुरुवात हुन्छ, फागुन पूर्णिमा नआउन्जेलसम्मको १ महिनाको अवधिमा प्रत्येक रात घर–घरमा गई होरी सम्बन्धी गीत गाउने र सामूहिक रूपमा नाच्ने प्रचलन रहिआएको छ ।’

होरी नाच यो समुदायमा मुख्य मौलिक नाच पनि हो । युवायुवतीहरूले परम्परागत पोसाकमा सजिएर नाच्दा निकै नै हेर्न तथा अध्ययन गर्न लायक रहने बताइन्छ । यसरी विधिवत् सुरुवात भएको एक महिनापछि पनि विधिवत् रूपमा होरीको समापन गरिन्छ । उनको अनुसार गाउँको दक्षिणी सिमानामा १ महिना पहिलै छोडिएको गुइँठा फागुन पूर्णिमाको राति पराल र तोरीको पिजाईसहित जलाइन्छ । दैत्य हिरन्य कस्यपकी बहिनी होलिकाको प्रतीक मानी गुइठालगायत वस्तुहरूलाई विधिपूर्वक पूजापाठ गरी जलाउने गरिन्छ ।

होरीको विधिवत् समापन गर्ने पनि अनौठो तरिका यो समुदायमा पाइन्छ । होरीको अन्तिम दिन आज बिहानै सबै गाउँलेहरू माटोको गोलीलाई सिन्कामा उनेर गाउँको दक्षिणी सिमानामा भेला भए । उनेर लगिएको ती माटाका गोलीहरूलाई यो समुदायमा खखडेहरा भन्ने गरिन्छ । गाउँको भर्रा ९पूजारी० ले विधिवत् रूपमा पूजापाठ गरिसकेपछि ती खक्रेरालाई फुटाएर होरीको विधिवत् विसर्जन गरिने समाजका उपाध्यक्ष रानाको कथन छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.