
अत्तरिया : विश्व नेपाली नारी साहित्य महोत्सवको अवसरमा तीन जना साहित्यकारलाई पुरस्कार सहित सम्मान गरिएको छ । आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले आज धनगढीमा विशेष समारोहमा साहित्यकार झमक कुमारी घिमिरे धनकुटा, डा. नवराज लम्साल काठमाडौँ र सनत रेग्मी नेपालगन्जलाई पुरस्कार सहित सम्मान गरेको हो । साहित्यकारद्वय घिमिरे र रेग्मीलाई जनही १ लाख ११ हजार १११ रुपैयाँ राशिको बद्री-कृष्णा वाङ्मय पुरस्कार प्रदान गरिएको छ ।
यस्तै प्रभाष राज्यलक्ष्मी कृति पुरस्कारबाट मदन पुरस्कार विजेता (अग्नि महाकाब्य-प्रतिभा) डा.नवराज लम्साललाई सम्मान गरिएको छ । उक्त पुरस्कारको राशि रु.१ लाख रहेको छ ।
तीनै जना साहित्यकारलाई मुख्यमन्त्री कमलबहादुर शाहले पुरस्कार प्रदान गर्नुहुँदै दोसल्ला ओढाएर सम्मान गर्नुभयो । यसैगरी २२ जना सष्ट्रालाई विभिन्न पुरस्कार सहित सम्मानित गरिएको छ । ती पुरस्कारको राशि ११ हजार देखि २५ हजार सम्म रहेको छ ।
