अत्तरिया, २२ चैत : कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कठ्ठामा गहुँखेती गर्छन । उनको ११ कठ्ठामा गहुँखेती गर्दा लाग्ने लागत रु ११ हजार हो ।
यसपाली उनको गहुँ खेतीमा लाग्ने लागत घटेका छ । जिरो टिलेज प्रविधिले यसपालीको लागत रु पाँच हजार मात्र लागेको उनले बताए । जिरो टिलेज प्रविधिले मेहनत कम, काम छिटो र उत्पादनमा लागत थोरै लाग्ने उनले बताए । ‘सामान्यतया गहुँखेती गर्दा तीन पटक जोत्नुर्पछ’, उनले भने । ‘तर, अहिले जिरो टिलेज प्रविधिमा मेहनत कम समयको पनि बचत गराएको छ ।’ गहुँमा पनि बाला राम्रो भएको हुँदा विगतको भन्दा राम्रो उत्पादन हुने उनको विश्वास छ । उनले प्रविधि आए पनि एक जनाले मात्र सञ्चालन गर्न सम्भव नभएको बताए । ‘प्रविधि राम्रो छ’, उनले अगाडि भने । ‘तर, एक जनाले मात्र सम्भव देखिदैन् । त्यसका लागि समुह चाहि आवश्यक पर्ने देखिन्छ ।’ ट्याक्टरसंगै सीड ड्रील आश्यक पर्ने हुँदा साना किसानहरुको एकल लगानीमा सम्भव भएको उनको भनाई छ ।
जिरो टिलेज प्रविधिबाट लगाएको गुहँ देखि किसानहरु उत्साहित भएको कैलारी गाउँपालिका–८ का अर्को किसान सानुराम चौधरीले बताए । जिरो टिलेज (विना खनजोत) बाट गरिएको गहुँ खेती गर्दा किसाहरुलाई धेरै सहज भएको उनको भनाई छ । ‘पहिलो पटक बारीमा खनजोत नगरेर नै गहुँ लगाएको छ’, उनले भने ‘ गहुँको भोट हेर्दा राम्रो फसल हुने देखिन्छ ।’ उनले यो प्रविधिले गर्दा यहाँको किसानहरु उत्साहित भएको बताए । ‘२२ कठ्ठा जमिनमा पहिलो पटक टिलेज प्रविधिबाट गहुँ खेती गरेको छ ।’, उनले भने । ‘सामान्य तरिकाले गरिने गहुँ खेती भन्दा यस प्रविधिबाट गरिने गहँुमा आधा भन्दा पनि कम लागत लागेको छ ।’ मेसिन महँगो भएको हुँदा एक जना किसानको एकल लगानी गर्नमा असम्भव भएको उनले बताए । ट्याक्टर र सीड ड्रील गरी रु २० लाख भन्दा बढी लागत लाग्ने हुँदा समुह अनिवार्य आवश्यक रहेको उनले उल्लेख गरे ।
थोरै श्रमशक्तिमा धेरै आम्दानी गर्न सकिने भएकोले खेतीपातीमा कृषि यान्त्रीकरणको प्रयोग पर्ने अर्को किसान अजित चौधरीले बताए । कृषि उपकरणको प्रयोगले उहाँलाई कृषिको काम गर्न सजिलो भएको छ । ‘थोरै श्रमशक्तिमा धेरै आम्दानी त छँदै छ किसानलाई झन्झट पनि कम हुन्छ,’ उनले भने । ‘१० दिन लगाएर गरिने गहुँ खेती एक घण्टामै सकिन्छ । ८० प्रतिशत श्रमशक्ति बचत हुन्छ ।’
खेतबारी जोत्न सजिलो मात्र नभई छिटो पनि हुने भएकोले कृषि क्षेत्रमा उपकरणको प्रयोगमा किसान आकर्षित भएका छन । ‘कृषि यान्त्रीकरणले श्रमशक्तिको बचत मात्र गर्दैन, उत्पादनको लागत पनि घटाउँछ,’ उनले भने ।
प्रदर्शनका रुपमा कैलालीको सबै भन्दा बढी गहुँ खेती हुने क्षेत्र कैलारी गाउँपालिकामा प्रदर्शनका रुपमा झण्डै तीन विघा क्षेत्रफलमा जिरो टिलेज प्रविधिबाट खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कैलालीका प्रमुख गोविन्दराज जोशीले बताए । परम्परागत छरुवा विधिको तुलनामा लागत खर्च निकै कम आउने, सिँचाइ गर्दा पानी कम लाग्ने र उत्पादन राम्रा हुने गरेको उनले बताए ।
जिरो टिलेज प्रविधिबाट सिड ड्रिल मेसिनको सहायताले गहुँ र मल एकैनासले लाइनमा पर्ने गरी छर्नुपर्ने बताए । ‘उम्रेका गहुँका बोटले राम्ररी मल पाउने भएकाले एउटै बिरुवामा गाज राम्रो आउँछ,’ उनले भने ।
छरुवा प्रविधिमा गरिएको खेती बढी पानी भए बोट पहेलो भई मर्ने र कम उत्पादन दिने समस्या तर, यस प्रविधिबाट त्यो समस्या नहुने उनले बताए । हिउँदमा बढी चिस्यान हुँदा बाँझो रहने खेतको सदुपयोग गर्दै यस प्रविधिबाट गहुँखेती गरी बढी प्रतिफल हासिल गर्न सकिने जोशीले बताए । झारपात र रोग कीराको प्रकोपसमेत बढी नहुने जिरो टिलेज प्रविधि भएको उनको भनाई छ । कार्यालयले जिरो टिलेज प्रविधिमा गहुँखेती गर्ने किसानलाई अनुदानमा उन्नत जातको गहुँको बीउ र मल सहयोग उपलब्ध गराएको हो ।
सम्बन्धित पाेस्टहरु