Agni Offset Press

राज्य, बैंक, वित्तीय संस्थाबाट व्यवसायीले समस्या झेल्नु परिरहेको छ , यी समस्याको समाधानका लागि मेरो उम्मेदवारी हो : कुँवर

Aarati simant

व्यापारिक पृष्ठभूमिमै जन्मिएका पुष्पराज कुँवर सुदूरपश्चिमका एक अग्रणी उद्योगी व्यवसायी हुन् । व्यापारिक क्षेत्रमा चार पुस्ता बिताइसकेको कुँवर परिवारले २०५३\५४ पछि पश्चिमका अन्य जिल्लामा पनि व्यापार विस्तार गर्यो । परिवारका सदस्यहरुले विभिन्न जिल्लामा व्यापार विस्तारको जिम्मेवारी लिए । अछाम, बाजुरा, कैलाली लगायतका जिल्लामा व्यापार विस्तार गरिएको छ । उनका दाईहरु, भतिजाहरु व्यापारिक क्षेत्रमै क्रियाशिल छन् । २०५९ बाट कैलालीमा विस्तार गरिएको व्यापारको जिम्मा पुष्पराजले लिए । अहिले उनले होटल व्यवसाय, खाद्यान्न व्यवसाय, निर्माण कम्पनी, एजेन्सी लगायत सम्हाली रहेका छन् ।

कैलालीमा व्यापार विस्तारपछि २०६३ सालदेखि उनी कैलाली उद्योग वाणिज्य संघको सदस्य बने । त्यस यता उनी निरन्तर सोही संस्थामा आवद्ध छन् । उनी सदस्यबाट कोषाध्यक्ष हुँदै संघको अध्यक्ष बने । अहिले उनी संघको अध्यक्षको दोस्रो कार्यकालमा छन् । पहिलो कार्यकालमा जिल्लाको अध्यक्ष हुँदै गर्दा उनी भुगोलबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यसमेत निर्वाचित भए । अहिले उनी महासंघको जिल्ला नगर उद्योग वाणिज्य संघको तर्फबाट खुला कार्यकारिणी सदस्यको उम्मेदवार बनेका छन् । उम्मेदवारी घोषणापछि देश दौडामा निस्किएका कुँवरले उद्योगी व्यवसायीलाई आफूलाई सहयोग गर्द आग्रह गर्नुका साथै उनीहरुका समस्या पनि बुझिरहेका छन् । ताकि विजयी भएर महासंघमा पुग्दा उनीहरुका समस्या समाधानका लागि पहल गर्न सकियोस् । प्रस्तुत छ, उम्मेदवार कुँवरसंग गरिएको कुराकानीको सम्पादित अंश :

जिल्ला र नगरको (खुल्ला तर्फ) बाट महासंघको खुला कार्यकारिणी सदस्यमा उम्मेदवारी दिनुभएको छ । तपाईको उम्मेदवारी किन र केका लागि ?
पछिल्लो समय जिल्ला नगर संघमा व्यवसायीहरुले थुप्रै समस्याहरु झेल्नु परिरहेको छ । घरेलु तथा साना, मझौला उद्योग व्यवसायीहरुले यो समस्याहरुसंग जुध्नु परिरहेको छ । अनुगमनका नामबाट पनि स्थानीय तह, स्थानीय प्रशासनबाट व्यवसायीहरुमाथि ज्यादती भइरहेको छ । राज्य, बैंक, वित्तीय संस्थाहरुबाट पनि व्यवसायीहरुले समस्याहरु झेल्नु परिरहेको छ । विशेषगरि यी र यस्तै समस्याहरुको समाधानका लागि मेरो उम्मेदवारी हो ।

उम्मेदवारीसंगै चुनावी अभियान अन्तर्गत देश दौडामा हुनुहुन्छ, तपाईका मतदाता उद्योगी व्यवसायीहरुबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
चुनावी दौडानका क्रममा देशका हरेक ठाउँमा पुग्दा सबै व्यवसायीहरुले सौहार्दपूर्ण तरिकाले स्वागत गरे । देशका सबै उद्योग वाणिज्य संघका उद्योगी व्यवसायीहरुसंग भेटघाट भयो । व्यवसायीहरुका सस्याहरु बुझियो र छलफल पनि गरियो । व्यवसायीहरुका समस्या बुझ्दै मत माग्ने निकै कम उम्मेदवारहरु मध्येमा म परेछु । धरैले फोन मात्रै भोट माग्छन्, तपाई यहीँ आएर भोट माग्नुभयो भने । व्यवसायीका समस्या पनि बुझनुभयो भनेर धेरै व्यवसायी साथीहरु खुशी हुनुभयो । चुनावका बेला अधिकांश ठाउँमा उम्मेदवारहरु नपुग्ने गरेको अवस्था रहेछ । कतिपय ठाउँमा व्यवसायीका समस्या बुझ्दै र भोट माग्दै पुग्ने पहिलो व्यक्ति पनि परेछु । सबैले मेरो सक्रियता र लगनशिलतालाई देखेर सहयोग गर्ने बचन दिनुभएको छ । म पनि विश्वस्त छु ।

खुला सदस्यमा चुनाव लड्न प्रतिस्पर्धा हुनसक्छ, जित्छु भन्ने आधार केही छ ?
जिल्ला नगरबाट खुला कार्यकारिणी सदस्यको १८ जनाको कोटामा ३२ जनाले उम्मेदवारी दिएका छन् । म विगतमा पनि महासंघको केन्द्रीय सदस्य भइसकेकाले मेरो आफ्नो छाप र पहिचान पनि छ । उद्योगी व्यवसायीका समस्याबारे जानकार छु । उद्योगी व्यवसायीहरुको हकहितका लागि लड्दै आइरहेको छु । अहिले बैंकिङ क्षेत्रबाट भएको व्याजदर वृद्धि विरुद्ध पनि आवाज उठायौं । सुदूरपश्चिमबाट त्यसको नेतृत्व गर्दै देशको राजधानीसम्म पुग्यौं । जुन कुरा व्यवसायीहरुले बुझेका छन् । उनीहरुले पनि तपाई जस्तो मान्छे आउनुपर्छ भनेका छन् । त्यसले गर्दा मलाई जित्न समस्या होला जस्तो लाग्दैन ।


महासंघमा निर्वाचित भइसकेपछि उद्योगी व्यवसायी र सुदूरपश्चिमको विकासका लागि कस्तो खालको भूमिका निर्र्वाह गर्नुहुन्छ ?
निर्वाचित भएर गइसकेपछि मेरो ध्यान उद्योगी व्यवसायीहरुको हकहितका साथै उद्योग व्यवसायको माध्यमबाट कसरी प्रदेशको विकासमा ध्यान दिन सकिन्छ भन्नेमा नै केन्द्रीत हुन्छ । जुन भूमिकामा म विगतदेखि नै छु ।

कैलाली उद्योग वाणिज्य संघ र केन्द्रीय सदस्य भइरहँदा मुख्य के–के काम गर्नुभयो ?
व्यवसायीहरुहरुलाई परेका हरेक समस्यामा अगाडि आएका छु । बैंक तथा वित्तीय संस्थाबाट झेल्नु परेको समस्या समाधानका लागि कैलाली उद्योग वाणिज्य संघले समाधानको पहल गर्दै आइरहेको छ । यस वर्ष पनि कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा प्रदेशभर बैंक तथा वित्तीय संस्थाहरुले बढाएको चर्को व्याजदर विरुद्ध आन्दोलन नै गर्यौं । व्यवसायीलाई परेका अन्य समस्या, राहत प्रदान गर्नेलगायतका थुप्रै कामहरु गरेका छौं । सुदूरपश्चिमको पर्यटन विकासका लागि कैलाली उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको सर्वविदितै छ । आगामी दिनमा पनि यस्ता कामले निरन्तरता पाउने नै छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.