अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–३ मा रहेको मालाखेती अस्पतालमा शिशु सहित सुत्केरी महिलाको मृत्यु भएको छ । आईतबार बिहान सुत्केरीका लागी आएकी गोदावरी नगरपालिका वडा नं. २ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराईको मृत्यु भएको हो ।
मृतक महिलाका आफन्तले अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । चैत १८ गते सुत्केरी मिति भएपनि २६ गते अस्पताल गएकी लक्ष्मीलाई सुत्केरी व्यथा नलागेको उनकी बहिनी धर्मा भट्टराईले जानकारी दिईन । उनले नर्मल छ भन्दै उपचारमा डाक्टरहरुले चासो नदिएको आरोप लगाईन । ‘सुत्केरी व्यथा नलागेकाले डाक्टरहरुले दुई तिन चोटी व्यथा लाग्ने औषधी लगाए, तर पनि व्यथा लागेन’ उनले भनिन ‘हिजो साँझ सम्म पनि केही भएन, डाक्टरहरुले टाईम टाईममा आएर औषधी राख्ने जाने गर्नुभयो, त्यति मतलब गर्नुभएन ।’
मृतक महिलाका आफन्त आ सोमबार बिहानदेखी अस्पतालको सेवा प्रवाह ठप्प पारेका छन । लापरबाही गर्ने डाक्टर र प्रशासनलाई उनीहरुले कारबाहीको माग गरेका छन ।
अस्पतालका प्रमुख डाक्टर अन्वेश कोईरालाले भने शिशु जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको बताएका छन । उनले बिरामीको अन्य सबै कुरा नर्मल भएको र विहान अचानक नै उक्त समस्या आएको बताए । उनले डाक्टरहरुले आफुले सक्दो मेहनत गरेको तर, उक्त समस्या अचानक आएकाले नै बिरामीको मृत्यु भएको बताए । अस्पतालले केही दिन अगाडि मात्रै एक जना सुत्केरीको सफल शल्यक्रिया गरेको थियो ।
सम्बन्धित पाेस्टहरु