अत्तरिया : नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीले बैतडीको झौखेलमा भएको जिप दुर्घटनामा परी आफन्त गुमाएका पीडितका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै उनले रोजगारीका लागि भारतमा गएका बझाङका मजदुर सवार सो जिप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको उल्लेख गर्दै पीडितलाई तत्काल क्षतिपूर्तिको उचित व्यवस्था गर्न गृह मन्त्रालयसँग माग गरेका छन् ।
सम्बन्धित पक्षले उचित क्षतिपूर्ति नदिएपछि पीडित पक्षले अहिले लाश समेत बुझेका छैनन् । सांसद जोशीले सो समस्या तत्काल समाधान गरी पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । ‘हिजो २८ गते बेलुकी बझाङ जिल्लाबाट भारतमा रोजगारी गर्न गएका मजदुरहरू भारतबाट नेपाल फर्कँदै गर्दा बझाङबासी दाजुभाइहरू जिप बैतडी जिल्लाको झौखेलमा दुर्घटना हुँदा दुर्घटनामा ६ जना मानिसहरूको घटनास्थलमै मृत्यु भएको छ ।
पाँचजना घाइते भएका छन्,’ सांसद जोशीले भने, ‘असाध्यै ठूलो वीभत्स घटना भएको छ । अहिले पनि पीडित पक्षले आफूलाई न्याय पाउनका लागि क्षतिपूर्ति पाउनका लागि बाटोघाटो बन्द गरेर बसेका छन । लाशहरू बैतडी जिल्लाको पाटनमा लिएर राखिएका छन् । त्यसो भएको हुनाले म गृह मन्त्रालयमार्फत उनीहरूको उचित क्षतिपूर्तिको व्यवस्थासहित यो दुःखद् घटनाको समाधानका लागि तत्काल गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’