
अत्तरिया : केही वर्षअगाडि सुदूरपश्चिमका पहाडी जिल्लामा मात्र मनाईने रनपुतला (पुतला) नाँच तराईतिर पनि मनाईन थालेको छ । पहाडमा मनाईने रनपुतला नाँच पछिल्लो समय हुँदै गएको हो ।
परम्परागत रूपमा चल्दै आएको रनपुतला पछिल्लो समयमा सुदूरपश्चिमेलीका छोरीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वको रुपमा लिईने गरेको छ । यसमा देउडामा एकतिर विवाह भएकी छोरीहरू र एकातिर विवाह नभएकी छोरीहरूबीच जानकारीमूलक सन्देशका गीतहरू गाइने गरिन्छ ।
यसमा काल्पनिक दुलहा दुलहीको बिहे गराइ रमाइलो गरिन्छ । विशेष गरी महिलाले सानो कपडाको पुतला बनाई दुलाहा दुलहीको बिहे गर्ने प्रचलनमा रहेको छ । महिलाले चौबन्दी चोली र धोती लगाएर कम्मरमा सेतो पटुका बाँधेर त्यसकैको सानो भागलाई हातले फिर्काउँदै पुतलाका पीडा र बेदनाबारे गीत गाउने गर्दछन् ।
विशेषगरी सुदूरका पहाडी जिल्लाहरूमा यो पर्व मनाउँदा तराई बस्ने पहाडीहरूले पनि यो पर्व मनाउँदै आएका हुन् । कैलालीको धनगढी, चौमाला, टिकापुर, बौनिया र कञ्चनपुरको कृष्णपुर, गुलरिया, बेलौरी लगायतका क्षेत्रमा रनपुतला नाच खेलिने गरिन्छ । धनगढीको धार्मिक तथा पर्यटकीयस्थल शिवपुरीधाममा महिलाहरुले रनपुताला खेल्न सुरु गरिएको छ ।
विवाहित छोरीहरू माइती घरमा आउँदा पुतलीको भेषमा नाच्ने गरेको परम्परा रहेको पाइन्छ । विवाह गरेर पराई घर गएकी छोरीबहिनी बिसौं पर्व नयाँ बर्षको अवसरमा समयमै आफ्नो माइतीघरमा आएर केही दिन अगाडि रनपुतला नाचको तयारी गर्ने र पर्वको दिनमा सबै दर्शकहरूलाई देखाउने गरी प्रस्तुत गर्ने गर्दछन् । यो रनपुतला नाँचलाई पुतला खेल पनि भन्ने गर्दछन् । सुदूरपश्चिमका पहाडका केही जिल्लाहरूमा रनपुतला पर्व पुस महिनाको १५ गतेदेखि माघ ३ गतेसम्म धुमधामका साथ मनाइने गरिन्छ भने केही जिल्लाहरूमा चैत २५ देखि नयाँ वर्षको पहिलो दिनसम्म मनाइन्छ ।
यो नाँचलार्ई छोरीबेटीलाई अनिवार्य भेट गराउने पर्व भएकाले मिलन पर्वको रूपमा पनि लिने गरिएको धनगढी उपमहानगरपालिका–३ की धनेश्वरी रेग्मीले बताइन् । ‘विवाह गरेर पराई घर गएकी छोरीहरू एक ठाउँमा जम्मा हुने र घर परिवार तथा अन्य पुराना आफ्ना साथीसँग भेट हुने भएकाले यसलाई छोरीको मिलन तथा सद्भावको पर्व भन्ने गरिन्छ’, उनले भनिन् । पहिले बर्सेनि यसरी रनपुतला खेलिने पर्व तर, पछिल्लो समय खेल्ने चलन हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरिन । यस्ता परम्परा पर्वहरु जोगाउन सरकारले पनि लाग्नुपर्ने उनको भनाइ छ ।
यो पर्व सयौं वर्षभन्दा अगाडिदेखि सुरुवात भएको पुतला पर्वमा विवाह भएका नभएका छोरी राम्रो तथा सफा गुन्यू चोली लगाएर पुतली जस्तै भएर सजिने र गाउँ गाउँमा पुतली नाचे जस्तै गरी डेउडा लगायतका खेल खेल्ने प्रचलन रहेको छ ।
रनपुतला खेल्दै छोरीहरूले पोइली घरमा भोगेका पीडाहरू र माइती घरमा विवाह नभएका युवतीहरूका नभोगेका बारेमा बनाइएका गीत गाइने गरेको धनगढीकी अर्को महिला पद्मा रावलले बताइन् ।
‘गाउँघरमा नारीहरूले छिट्को फरिया, रातो चौबन्दी चोलो र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिक रूपमा रनपुतला खेलिन्छ’, उनले भनिन् । ‘पंक्तिबद्ध भएर विरहका गीत गाउँदै नाच्दा सुदूरपहाडका बस्तीहरूमा बेग्लै यस पर्वमा रौनकता छाउँछ ।’ तर, पछिल्लो समय नयाँ पुस्तामा भने यो सहजै हस्तान्तरण हुन सकेको छैन ।
पछिल्लो पीडामा भने रनपुतला प्रति त्यति रुचि देदिएको छैन् । ‘पश्चिमा संस्कृतिको प्रभावले नयाँ पुस्ता प्रभावित हुँदा अन्य संस्कृतिझैं रनपुतला पनि संकटमा छ, यसको जर्गेना गर्न सचेत हुन जरुरी छ ।’ नेपाल सरकारका पूर्व सचिव झंकर विष्टले भने ।
