मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा भएका दुई वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बेलौरी नगरपालिका–४ रानाटोलस्थित सडकमा भकुण्डादेखि बेलौरी बजारतर्फ जाँदै गरेको से.७ प ५९४२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर शनिबार दिउँसो दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही नगरपालिका–१० शिवनगर बस्ने २२ वर्षीय राम बहादुर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ईशान मेमोरियल अस्पताल बेलौरी हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

यस्तै शुक्लाफाटा नगरपालिका–५ शुक्लाफाटा राष्ट्रिय निकुञ्ज नजिक सडकमा रोकेर राखेको ना.५ ख ९७३२ नम्बरको ट्रकमा सु.प.प्र.०२००३ प ४४८२ नम्बरको मोटरसाइकल ठोक्किएर शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक बेदकोट नगरपालिका–३ बस्ने ३६ वर्षीय कमलावती पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कमलावतीको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.