गौरीगंगामा सामुदायिक मेलमिलाप सम्बन्धि ८ दिने तालिम

अत्तरिया, ४ बैशाख : गौरीगंगा नगरपालिका न्यायिक समिति चौमाला, कैलालीको आयोजना तथा नेपाल मेलमिलापकर्ता समाजको प्राविधिक सहयोगमा सामुदायिक मेलमिलाप सम्बन्धि ८ दिने तालिम चौमालामा सुरु भएको छ ।
न्यायिक समिती सदस्य मदन नेपालीको सभापतित्वमा सुरु भएको उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि गौरीगंगा नगरपालिका प्रशासकीय अधिकृत हरिप्रसाद भट्ट,उप–सचिब हरिस पन्त,नगर स्तरीय मेलमिलाप संयोजक हेमन्त राज जोशी (बाजे) लगायत रहेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले स्थानीयस्तरमा हुने सानातिना झै–झगडा र बिबादहरुको त्यही समुदायमा मेलमिलापकर्ता हरुको सहजीकरणमा दिगो समाधान गरि समाजमा शान्ति, सौहार्द, भाईचारामा अभिबृद्धी गर्न मेलमिलापकर्ताहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
तालिममा गौरीगंगा नगरपालिका १–११ वटा वडा बाट २५ जना सहभागी रहेका छन । तालिममा सर्बोच्च अदालतको मेलमिलाप परिषद्ले तयार पारेको पाठ्यक्रमका आधारमा विभिन्न विषय अन्तर्गत विवाद र यसको स्वरुप, विवादका श्रोत तथा कारण, विवाद बढने चरण, समाधानका वैकल्पिक उपायहरु, मेलमिलापकर्ताहरुको गुण तथा भूमिका, सहजीकरण सिप, सोधपुछ वा प्रश्न गर्ने सीप लगायतका विषयहरु सिकाईनेछ ।
बैशाख ११ गते सम्म संचालित उक्त तालिमको सहजीकरण अधिबक्ता रोहित देउवा र गणेश कडायतले गरेका छन । कार्यक्रमको संचालन कानुन अधिकृत जयन्द्र ठकुल्लाले गरेका हुन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.