टिङ्कर भन्ज्याङ निरीक्षणमा सेना

दार्चुला : नेपाली सेनाको टोली व्यास गाउँपालिका–१ मा पर्ने चीनसँगको सिमाना टिङ्कर भन्ज्याङको निरीक्षण गरी फर्किएको छ। गत चैत २१ गते गुरु गोरख गुल्म खलङ्गा ब्यारेकबाट हिँडेको सेनाको टोली ११ दिनपछि टिङ्करमा रहेको पिलर नम्बर–१ को स्थलगत अनुगमन तथा निरीक्षण गरी फर्किएको हो।

नेपालको बाटो हुँदै पिल्लर नम्बर–१ मा पुगेको सेनाले सीमास्तम्भको अवस्थाका बारेमा जानकारी लिएको हो। सो टोलीलाई सुदूरपश्चिम पृतनापति उपरथी विजय थापा र सहायकरथी पुरुषोत्तम ढकालले छाङरु पुगेर भेटेका छन् । नेपाल–चीन पिल्लर नम्बर–१ हिउँले ढाकेको अवस्थामा फेला प¥यो, हिउँ सफा गरेर सीमास्तम्भबारे जानकारी लिएर टोली तल झ¥यो, सहायकरथी ढकालले भने, ‘हाम्रो टोली व्यास गाउँपालिकामा पुगेको छ।’

सेनाको टोली १० गते दार्चुला सदरमुकाम खलङ्गा आइपुग्ने बताइएको छ। गत मङ्सिरयता मानवीय उपस्थिति शून्य रहेको टिङ्करमा सेनाको टोली पुगेको गुरु गोरख गुल्म दार्चुलाले जनाएको छ। सेनाले व्यास गाउँपालिका–१ मा पर्ने छाङरु र टिङ्कर गाउँबस्ती तथा बाटोघाटोको अवस्थाका बारेमा जानकारी लिएको छ। वर्षमा एक पटक चीनसँगको सीमानाकाको अवस्थाबारे सेनाले जानकारी लिँदै आएको छ। गर्मीयामको छ महिना टिङ्कर र छाङरुमा बसोबास गर्ने सौका समुदायका मानिस हिउँदेयाम सुरु भएसँगै गत मङ्सिरमा खलङ्गा झरेका थिए। गर्मी बढेसँगै गाउँ फर्किने तयारीमा रहेका छन्।

टिङ्करको छ्यालेकमा बस्दै आएको नेपाल प्रहरीको टिङ्कर सीमा प्रहरी चौकी पनि हिउँ परेपछि छाङरु झरेको थियो। मानव बस्ती र सुरक्षाको अवस्था शून्य रहेको समयमा सेनाको टोलीले त्यहाँको निरीक्षण गरी सीमा सुरक्षाको अवस्था र वस्तुस्थितिबारे स्थलगत अनुगमन गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.