Agni Offset Press

धनगढीको दशरथ भीम उद्यानमा ताला

Aarati simant

धनगढी : धनगढी उपमहानगरपालिकाले दशरथ भीम उद्यान (पार्क) मा ताला लगाएको छ। उपमहानगरले २०७६ चैतदेखि सम्झौताअनुसार पाउनुपर्ने रकम नपाएको भन्दै (पार्क)मा ताला लगाएको जनाएको छ।

पार्कलाई २०६७ चैत २५ मा सार्वजनिक निजी साझेदारी अन्तर्गत स्वाँर कन्स्ट्रक्सनलाई १२ वर्षे ठेक्का सम्झौतामा दिइएको थियो। ठेकेदार कम्पनीका प्रतिनिधि ऋषिकेश श्रेष्ठले सञ्चालन गर्दै आएको पार्क सम्झौता अनुसारको भाडा रकम नतिरेको र कम्पनीले उल्टै धनगढी उपमहानगरको नाममा अदालतमा मुद्दा हालेको र सम्झौता मिति समाप्त हुँदा पनि पार्क नछोडेको उपमहानगरपालिकाको आरोप छ।

उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले पार्कलाई नियन्त्रणमा लिएर नयाँ स्वरुपमा विकास गर्न गेटमा अहिलेलाई ताला लगाइएको बताए। धनगढी उपमहानगरपालिका–१ मा एक बिघा १५ कट्टा क्षेत्रफलमा फैलिएको दशरथ–भीम उद्यान (धनगढी पार्क) लाई विकास गरी सार्वजनिक निजी क्षेत्रबाट सञ्चालन गर्न एक वर्ष निर्माण अवधिसहित १२ वर्षका लागि ठेक्का सम्झौता गरिएको थियो। सम्झौताअनुसार निर्माण अवधि पश्चात् २०६८ फागुन २६ गतेदेखि मासिक १५ हजार भाडा हुने र हरेक २ वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने उपमहानगर र प्रालिबीच सम्झौता गरिएको थियो।

सोही व्यवस्थाअनुसार २०७० चैतदेखि १६ हजार ५ सय, २०७२ चैतबाट १८ हजार १५०, २०७४ चैतबाट १९ हजार ९६५ तथा २०७५ चैतबाट २१ हजार ९६५ रुपैयाँ भाडा असुल गर्नुपर्ने हो। तर, उपमहानगरपालिकामा रहेको अभिलेखअनुसार ठेकेदारले २०७६ चैतदेखि २०७८ असारसम्म भाडाबापत उपमहानगरलाई तिर्नुपर्ने तीन लाख ५१ हजार ३८४ रुपैयाँ ठेकेदार कम्पनीले नतिरेको उपमहानगरपालिकाले जनाएको छ ।सरकारी ठेक्का बन्दोबस्त ऐन २०२० को दफा १२ अनुसार वार्षिक बुझाउनुपर्ने रकम नबुझाए १० प्रतिशतका दरले अतिरिक्त रकम लिनुपर्ने व्यवस्था छ। तर भाडा र अतिरिक्त रकमसमेत उपमहानगरले नलिएको जनाएको छ।

 

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.