घोडाघोडीका नगर प्रमुख रावतले छोरालाई सामुदायिक विद्यालयमा भर्ना गरे

सुखड : कैलालीको घोडाघोडी नगरपालिकामा नगर प्रमुख खडकबहादुर रावतले आफ्नो छोरालाई सरकारी विद्यालयमा भर्ना गराएका छन् । वडा नम्बर १० पहलमानपुरमा रहेको कान्ति राज्य लक्ष्मी माध्यामिक विद्यालयमा उनले छोरालाई भर्ना गराएका हुन् । देशभर विद्यार्थी भर्ना अभियान चलिरहेका बेला नगर प्रमुख रावत स्वयं विद्यालय पुगेर छोरालाई विद्यालयमा भर्ना गराएका हुन ।
छोराको जन्म दिनको अवसर पारेर उनले बाल विकासमा भर्ना गराएका हुन । छोराको भर्नासँगै विद्यालयका तर्फबाट नयाँ पाठ्यपुस्तक हस्तान्तरण गरीएको थियो । सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार गर्नका लागि शिक्षक, सरकारी कर्मचारीहरू र जनप्रतिनिधिहरूले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा छोराछोरी पढाउनु पर्ने विषयले चर्चा पाइरहेका बेला नगर प्रमुख रावतले आफ्नो छोरालाई सामुदायिक विद्यालयमा भर्ना गराएका हुन् ।

सामुदायिक विद्यालयमा नेता, सरकारी कर्मचारी तथा शिक्षकहरूले आफ्ना छोराछोरी भर्ना नगरेसम्म गुणस्तर वृद्धि नहुने उनले बताए । सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन भर्ना अभियानमा सहयोग गरेको उल्लेख गर्दै शिक्षक, कर्मचारीलगायत उच्च ओहोदाका व्यक्तिहरू अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्न हुन उनले अनुरोध समेत गरेका छन् ।
विद्यालयको गुणस्तर सुधार गर्न नगर सरकार प्रतिबद्ध रहेको र यसमा सबैको सहयोग आवश्यक रहेको उनले बताए । नगर प्रमुख खडक बहादुर रावत कान्ति राज्य लक्ष्मी माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । उनको छोरा आयुश रावत ३ वर्ष पुरा गरी ४ वर्षमा प्रवेश भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.