कञ्चपुरको मान्छे मार्ने बाघ सदर चिडियाखानामा

अत्तरिया : कञ्चनपुरको बेलौरीबाट नियन्त्रणमा लिइएको बाघ ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ। ९ वैशाखमा बेलौरी नगरपालिका–पचुईबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई आइतबार सदर चिडियाखानास्थित बाघ खोरको होल्डिङ कोठामा राखिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले जानकारी दिए। पोथी बाघ अन्दाजी पाँच वर्षको रहेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णयअनुसार शुक्लाफाँटा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले बाघ सदर चिडियाखाना ल्याएको हो। यो बाघले ८ वैशाखमा पचुईकी ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो। घटनाको २२ घन्टापछि मात्र बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघ विज्ञ डा. दीनेश देवकोटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आभाष श्रेष्ठसहितले हात्ती परिचालन गरी डार्ट गरेर नियन्त्रणमा लिएका थिए।

चन्द मृत फेला परेकी थिइन् । भारतको दुधूवा राष्ट्रिय निकुञ्ज क्षेत्र नजिकै रहेको यहाँ एक महिना अघि मात्र बाघको आक्रमणमा परी एक भारतीय र एक नेपालीको ज्यान गइसकेको छ।

नेपालमा सन् २००९ मा १२१ बाघ रहेकामा हाल यो संख्या ३५५ पुगिसकेको छ। शुक्लाफाँटा र वरपरको क्षेत्रमा मात्र ३६ बाघ रहेको अनुमान छ। तराई क्षेत्रमा रहेको लालझाडी–मोहना, वसन्ता र ब्रह्मदेव जैविक मार्गमा बाघको विचरण बढिरहेको छ। नेपाल र भारत दुबै देशमा फैलिएको तराई भूपरिधी क्षेत्रमा बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्वका घटना पनि बढेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.