धनगढी :राष्ट्रिय धान दिवसको अवसरमा धनगढीको शिवनगरस्थित चैतन्य पाठशालाले धान दिवस मनाएको छ। चैतन्यका विद्यार्थी र शिक्षकले धान रोपेर धान दिवस मनाएका हुन्। विद्यार्थीहरूलाई व्यवहारिक रूपमै रोपाइँबारे ज्ञान होस् भन्ने उद्देश्यका रोपाइँ गरिएको चैतन्यका अध्यक्ष गणेशप्रसाद जोशीले बताए।

हामीले संस्कारसहितको व्यवहारिक शिक्षामा जोड दिइरहेका छौं। यस्ता खाले क्रियाकलापले विद्यार्थीहरूले कृषिका बारेमा सहजै बुझ्ने छन्। उनीहरूको कृषि र किसानप्रतिको सम्मान पनि बढ्ने छु, जोशीले भने। आगामी दिनमा पनि यस्ता खाले व्यवहारिक क्रियाकलाप गर्दै जाने जोशीको भनाइ छ। धान दिवसको अवसरमा विद्यार्थी र शिक्षकले खेतमै दही चिउरासमेत खाएका थिए। उनीहरूले ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो गरेका थिए।

यस वर्ष जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धिु भन्ने नाराका साथ धान दिवस मनाइएको हो। वि.सं. २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।