धनगढी, १५ असार : धनगढीस्थित हिमशिखर सहकारी संस्थाले रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाएको छ । कैलालीको कैलारी गाउँपालिका १ विशनपुरमा हिमशिखर बीउ प्रशोधन केन्द्रमा शुक्रबार राष्ट्रिय धान दिवससहित विभिन्न साँस्कृति कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
सो राष्ट्रिय धान दिवशमा आयोजित रोपाइँ कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष राजसमझ चोधरी प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथि पालिका उपाध्यक्ष भगवती चौधरी रहेकी थिइन् ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष चौधरीले कृषिमा लाग्ने नागरिकलाई उत्प्रेरित गर्नुपर्ने बताए । उनले हाम्रो बाच्ने आधार कृषि हो, त्यसैले कृषिलाई प्रोत्साहन गर्न सरकारले आवश्यक नीति ल्याएर कृषिलाई महत्व दिनुपर्ने बताए । सहकारीका अध्यक्ष दुर्गा भण्डारीको अध्यक्षतामा भएको सो रोपाई दिवशमा सहकारीका सचिव बिमल जोशीले कृषि उत्पादनलाई बढावा दिन उन्नत जातका धानको बीउ आवश्यक रहेको बताए ।
उनले हिमशिखर सहकारीले त्यसका लागि कैलारीमा बीउ प्रशोधन केन्द्र स्थापना गरेको बताए । धान दिवश कार्यक्रममा सहकारीका उपाध्यक्ष रोशन सिंह, प्रमुख व्यवस्थापक मेहन्द्र शाही लगायत अन्य हिमशिखर सहकारीका कर्मचारीहरु, स्थानीय कृषक लगायतको उपस्थिती रहेको थियो ।
