अछाम : परराष्ट्रमन्त्री एनपी साउदले कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा भाग्यका कारण नभएर क्षमताका कारण पाँचपटक प्रधानमन्त्री बनेको दाबी गरेका छन् । नेपाली कांग्रेस गाउँ कार्यसमिति चौरपाटी अछामले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन् ।
शनिबार मात्रै कांग्रेस महामन्त्री गगन थापाले दुनियाँमा कुनै पनि देशमा एउटै व्यक्ति पाँच–पाँचपटक बनेको इतिहास नभएको उल्लेख गर्दै नेपालमा मात्रै यस्तो परम्परा रहेको बताएका थिए । सोही भनाइको जवाफ दिँदै मन्त्री साउदले क्षमता भएर नै सभापति देउवा पाँच पटक प्रधानमन्त्री बनेको बताएका हुन् । योग्यता,पार्टीमा विचार र चिन्तनले नै देउवालाई प्रधानमन्त्री बनाएको उनको भनाइ छ । उनले भने, ‘धेरैले भन्छन् शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन् । उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो ।’
अन्तर्राष्ट्रिय शक्तिलाई आश्वस्त र विश्वस्त पार्न नेपाली कांग्रेसले मात्रै सक्ने उनको दाबी छ । उनले लगानीमैत्री वातावरण बनाएर आर्थिक वृद्धिको प्रक्रियालाई अगाडि बढाउने बताए । मन्त्री साउदले नयाँ–नयाँ पार्टी आइरहेको तर नयाँ पार्टीहरूले पद्धतिमा विश्वास नगर्ने उनको भनाइ छ । सोसल मिडियाबाहेक उनीहरुको कतै संगठन नभएको उनले बताए ।