अत्तरिया, ७ साउन : योनिक तथा लैङ्गिक अल्पसंख्याक समुदायका मुद्धामा सुदूरपश्चिम प्रदेशका सांसदले प्रतिबद्धता जनाएका छन् । आईतबार सेभ–द चिल्ड्रनको आर्थिक सहयोगमा धनगढीमा भएको अन्र्तक्रिया तथा छलफल कार्यक्रममा सांसदहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा नेपाली काँग्रेसबाट निर्वाचित सांसद प्रकाशबहादुर वमले मानवले जन्मलिईसकेपछि हरेक नागरिकको स्वतन्त्र रुपमा बाच्न पाउनुपर्ने धारणा व्यक्त गरे । मानवको स्वतन्त्रका लागि बनेका कानुनहरु समेत कार्यान्वन नभएको हुँदा कार्यान्वयनमा हुनुपर्नेमा उनले जोड दिए । ‘मानवको स्वतन्त्रका लागि थुप्रै कानुनहरु बनेका छन् ।’, उनले भने । ‘ती कानुन पालना हुने वातावरण बनाउने दायित्व सबैको छ ।’ उनले सुदूरपश्चिम प्रदेश सरकारले अहिले सम्म ३९ वटा कानुन निर्माण गरेको तर, अल्पसंख्याक समुदायको पक्षमा बन्न नसकेको बताए । उनले आफ्नोतर्फबाट योनिक तथा लैङ्गिक अल्पसंख्याक समुदायका मुद्धामा प्रतिबद्धरुपमा लाग्ने प्रतिबद्धता समेत गरे । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा अल्पसंख्याक समुदायको मुद्धामा छलफल समेत गरिने उनले बताए । यस्तै, कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित सांसद सन्तोष शर्माले समुदायमा चेतनास्तर बढे पनि परिर्वतन हुन नसकेकोमा जोड दिईन् । योनिक तथा लैङ्गिक अल्पसंख्याक समुदायका मुद्धामा राज्यले मात्र भन्दा पनि सरोकारवाला निकाय सबैको रहेको उल्लेख गरिन् । ‘यस समुदायका नागरिकहरुलाई खुलेर आउन सक्ने वातावरण अझै पनि बन्न सकेको छैन्’, उनले भनिन् । ‘त्यसका लागि सबै लाग्न आवश्यक भएको छ ।’ ग्रामिण क्षेत्रमा चेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको उनले औल्याइन् । योनिक तथा लैङ्गिक अल्पसंख्याक समुदायका बारेमा अभिभाकहरुलाई बुझाउन पनि उत्तिकै आवश्यक रहेको उनले बताईन् । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सांसद खेमादेवी विष्टले अल्पसंख्याक समुदायका क्षेत्रमा भएका कानुनहरु पालना हुन नसकेको उल्लेख गरिन् । यस समुदायका लागि आफ्नोतर्फबाट हुने सहयोग सडक र संसदबाट पहल गर्ने प्रतिबद्धता समेत उनले गरिन् । कतिपयलाई ज्ञान नहुँदा समाजमा यस समुदायका बारेमा अनेक शव्दहरु प्रयोग गरिरहेको उनले बताईन् । अल्पसंख्याक समुदायका बारेमा परिवार परिवारमा छलफल गर्न आवश्यक रहेको उनले बताईन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगक अधिकृत गणेश जोशीले आफ्नो प्रस्तुति राख्दै अल्पसंख्याक समुदायका पक्षमा कानुनहरु धेरै भए पनि कार्यान्वन हुन नसकेको उल्लेख गरे । उनले हरेक समुदायका लागि आयोग जहिले पनि प्रतिबद्ध रुपमा लाग्ने गरेको बताए । कार्यक्रममा निलहिरा समाजका प्रशुराम चौधरीले अल्पसंख्याक समुदायकाबारेमा समाजको बुझाई र कानुनी व्यवस्थाका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका हुन् । त्यस्तै गरी सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयको सामाजिक विकास शाखा प्रमुख जयन्ती गिरिले मन्त्रालयले अल्पसंख्याक समुदायका बारेमा गरिरहेका प्रयासका बारेमा आफ्नो प्रस्तुति राखेकी हुन् । निलहिरा समाजका अनुसार सुदूरपश्चिममा २ सयको हाराहारिमा योनिक तथा लैङ्गिक अल्पसंख्याक समुदायका व्यक्तिहरुको संख्या रहेको छ । २०७८ को जनगणना अनुसार देशभर यस समुदायको जनसंख्या २ हजार ९ सय २८ रहेको छ ।
निलहिरा समाजको आयोजनामा भएको कार्याक्रमको समन्वय सुदूरपश्चिम समाजले गरेको हो । सुदूरपश्चिम प्रदेशका सचिव राज चौधरीले स्वागत गरेका कार्यक्रमको सञ्चालन निलहिरा सकाजका समता वमले गरेकी हुन् । कार्यक्रममा सुदूरपश्चिम समाजको प्रदेश अध्यक्ष करुण नेपालको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रदेश सभाका सांसद, कर्मचारी र विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
