बढ्यो गोदावरी नगरमा महिला हिंसा

अत्तरिया : कैलालीको गोदावर नगर क्षेत्रभित्र महिला हिंसा बढ्दै गएको देखिएको छ । नगर क्षेत्रभित्र महिला हिंसासँगै लैंगिक हिंसा पनि बढ्दै गएको हो । ईलाका प्रहरी कार्यालय मालाखेती (अत्तिरिया) ले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९÷८० मा मात्र महिला हिंसाका ९१ र लैंगिक हिंसाका ७१ गरी एक सय ६२ जना विरुद्ध ठाडो उजुरी परेको छ । यस्तो उजुरी दैनिक रुपमा बढ्दो क्रममा रहेको कार्यालयले जनाएको छ ।
महिला हिंसा विरुद्ध परेका ९१ उजुरीमध्ये ८८ उजुरी मिलापत्रबाट टुंग्याइएको छ भने तीनवटा उजुरी टुंगिन बाँकी छ । त्यस्तै लैंगिक हिंसा विरुद्ध ७१ उजुरी परेकोमा ७० उजुरी मिलापत्रबाट टुंग्याइएको छ । एक वटा उजुरीको भने टुंगो लाग्न बाँकी छ । गोदावर क्षेत्रभित्र महिला हिंसा र लैंगिक हिंसा बढ्दै गएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
गोदावरीमा सबैभन्दा बढी महिला घरेलु हिंसाबाट पीडित छन् । श्रीमानले मादक पदार्थ सेवन गरेर यातना दिनुका साथै घर निकालासम्मका घटना भइरहेका हुन् । महिलामाथि हुने सबै प्रकारका भेदभाव अन्त्य हुनुपर्नेमा गोदावरीको हकमा पीडितको संख्या बढ्दो क्रममा देखिएको छ । महिला हक अधिकारको क्षेत्रमा काम गर्ने भन्दै थुप्रै संघसंस्थाहरु खुलेको भए पनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन् ।
बहुविवाह, बालविवाह, जबरजस्ती करणी लगायतका घटना एकपछि अर्को बढ्दै जाँदा समेत नियन्त्रणको प्रयास कहिकतैबाट हुन सकेको छैन् । २०६६ मा जारी भएको घरेलु हिंसा कसूर तथा सजाय ऐनले शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातनालाई घरेलु हिंसाका रूपमा परिभाषित गरेको छ । ऐनले यो अपराध प्रमाणित भएमा तीन हजारदेखि २५ हजारसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.