दार्चुला शैल्यशिखर नगरपालिकाका हाकिमसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा

धनगढी : दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहितका सात जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार काठमाडौंस्थित विशेष अदालतमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्ट, इन्जिनियर सन्तोष पाण्डेय, तत्कालीन इन्जिनियर राजेन्द्रसिंह धामी र सब–इन्जिनियर दीपकसिंह विष्टविरूद्ध मुद्दा दायर भएको हो। त्यस्तै पनेबाज–बन्तोली–बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनन्जय जोशी र कोषाध्यक्ष जानकी बडू जोशीविरूद्ध पनि मुद्दा दायर भएको छ।

शैल्यशिखर–६ पनेबाज मौरीभिटादेखि वडा–७ र वडा ८ को बन्तोली–बोहरीगाउँको सडकखण्ड निर्माणको लागत इस्टिमेटमा कडा चट्टानको भाग बढी देखाएर वास्तविकभन्दा बढी भुक्तानी भएको भन्ने सूचना अख्तियारले पाएको थियो। त्यसपछि अख्तियारले छानबिन गर्दा २६ लाख २ हजार ५६६ रूपैयाँ बढी भुक्तानी लिएको खुलेको हो। प्रमुख प्रशासकीय अधिकृत लगायतले आर्थिक वर्ष २०७४\०७५ र २०७५\०७६ मा सञ्चालित पनेबाज–बन्तोली–बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बंग्याएको अख्तियारले जनाएको छ। कटिङ गर्दा बढी दररेट रहेको हार्ड रकको परिमाण अस्वाभाविक रूपमा बढी मूल्यांकन गरी नापी किताबमा चढाएर हस्ताक्षर गरेको र निर्माणस्थलमा गरेको कामभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको झुटा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी भुक्तानी लिएको पाइएको हो। अख्तियारले उनीहरूबाट बिगो रकम जफत हुन मागदाबीसहित मुद्दा दायर गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.