अत्तरिया : कान्द्रा नदी कटानले जोखिममा परेको झोलुङे पुल जोगाउन कैलालीको भजनी नगरपालिका ४ र ९ का बासिन्दा जैविक तटबन्ध निर्माणमा जुटेका छन् । गत साताबाट जैविक तटबन्ध निर्माण गर्न यी दुई वडाका डेढ सय स्थानीयले दैनिक श्रमदान गरिरहेका छन् । केही दिनयता नदीले कटान तीव्र पारेपछि हालै बनेको वडा नम्बर ४ र ९ जोड्ने झोलुङे पुल जोखिममा परेको छ ।
स्थानीय बासिन्दाले काठ, बाँस, झारपात र बोरामा बालुवा भरेर जैविक तटबन्ध निर्माण गरी कटान नियन्त्रणको प्रयास गरिरहेका छन् । भजनी– ९ गन्जहवाका भीम कुडमालले नदी कटानले पुल बग्ने जोखिम भएपछि जैविक तटबन्ध बनाएर जोगाउने प्रयास थालिएको बताए । ‘कटान पुलको पिलरको ३०–३५ मिटरनजिक पुगिसकेको छ,’ उनले भने, ‘रोकथामको प्रयास तत्कालै नगरे नदीले पुल बगाउने जोखिम रहेकाले जैविक तटबन्ध निर्माणमा जुटेका हौँ ।’
खैराड, आमबारी र गन्जहवा गाउँका डेढ सयजनाले जैविक तटबन्ध बनाउन दैनिक श्रमदान गरिरहेको कुडमालले बताए । स्थानीयले गत ४ साउनबाट जैविक तटबन्ध निर्माणको काम थालेका हुन् । हालसम्म करिब चार सय मिटर लामो जैविक तटबन्ध निर्माण गरिएको भजनी– ९ का होमबहादुर बोहोराले बताए । जैविक तटबन्ध निर्माणको अगुवाइ गरिरहेका उनले थप पाँच सय मिटर तटबन्ध निर्माणका लागि श्रमदान कार्य केही दिन जारी रहने बताए ।
‘पुल कटानको जोखिममा छ, तटबन्ध बनाइदिनुपर्यो भनेर पुल निर्माण भएदेखि नै हामी नगरपालिकामा गयौँ, संघ र प्रदेशका सांसदलाई भन्यौँ,’ उनले भने, ‘तर, कतैबाट पनि सुनुवाइ नभएपछि हामी आफैँ अग्रसर हुनुपरेको हो ।’ बोहोराले पुल निर्माणका क्रममा दुवैतर्फ पक्की तटबन्ध नबनाइएकाले कटानबाट पुल बग्ने जोखिम रहेको बताए ।
बर्खामा उर्लेर आउने कान्द्रा तर्न स्थानीयको एक मात्र सुरक्षित विकल्प यो झोलुङे पुल हो । करिब सात महिनाअघि झोलुङे पुल निर्माण भएपछि स्थानीयले नदी तर्दा भोग्दै आएको सास्ती र जोखिम हटेको छ । विगतमा पुल नहुँदा स्थानीयले बर्खायाममा डुंगाबाट जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता थियो । हिउँदमा पानी कम हुने भएकाले ठेक्कामा राखिने काठको पुलबाट पैसा तिरेर नदी तर्नुपर्थ्यो ।
जैविक तटबन्ध बनाउन स्थानीय सामुदायिक वनबाट कुकाठ, स्याउला र झारपात प्रयोग गरिएको छ । बालुवा राख्न सिँचाइ डिभिजन धनगढीले हजारवटा बोरा दिएको स्थानीयले बताएका छन् । श्रमदानमा सहभागी हुन गाउँका भल्मन्सामार्फत स्थानीयलाई खबर गर्ने गरिएको छ । गाउँमा स्थानीयका ट्र्याक्टर प्रयोग गरेर जैविक तटबन्धमा प्रयोग हुने कुकाठ, स्याउला र झारपात सामुदायिक वनबाट ढुवानी गरिरहेको आम्बासा गाउँका भल्मन्सा हेमराज चौधरीले बताए । आफूहरू बिहानदेखि बेलुकीसम्म तटबन्ध निर्माणको काममा खटिरहेको उनको भनाइ छ ।
स्थानीय जनप्रतिनिधिसमेत जैविक तटबन्ध निर्माण सहभागी हुने गरेका छन् । भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले कान्द्रा नदीले पुलवरपरका खेतमा तीव्र कटान गरिरहेको जानकारी दिए । उनले पुलको छेउछाउतिर तटबन्ध नबनाइएको बताए । कान्द्रा, काँडा, मोहना, पथरैया, कर्णालीलगायत नदीले बर्खायाममा भजनी, टीकापुर, कैलालीसहित जिल्लाको दक्षिणी क्षेत्रमा व्यापक मात्रामा कटान गर्ने गर्छन् ।