
अछाम, २९ भदौ : अछाममा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । अछामको रामारोसन गाउँपालिका–७ भाटाकाटियाकी १४ वर्षीया राधिका परीयार बाघको आक्रमणमा परि घाइते भएकी प्रहरीले जानकारी दिएको छ ।
उनलाई शुक्रबार बिहान धारामा पानी भरीरहेको बेलामा बाघले आक्रमण गरेको हो । आक्रमणबाट राधिकाको दाहिने हात र छातीमा चोट लागेकाले बयलपाटा अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । यसअघि भदौ २४ गते चितुवाको आक्रमणबाट सोही गाउँपालिकाकी ३५ वर्षीया हैकला साउँद घाइते भएकी थिइन् ।
हैकलालाई गोठको छाना नजिकै घाँस काट्नेक्रममा गोठको छानामा लुकेर बसेको चितुवाले आक्रमण गरेको थियो । यस्तै सोहि पालिकाकै २१ वर्षीय सुर्यबहादुर साउँद र ३७ वर्षीय जगत साउँदलाई गोठभन्दा करिब पाँच सय मिटर टाढा मकैवारीमा घाइते अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउँदले बताएका थिए । घाइते तीनै जनाको स्थानीय स्वाथ्यचौकीमा उपचारपछि घर फर्किएका छन् । त्यस्तै ३ हप्ताअघि पनि सोही गाउँपालिका –७ सुतारमा एक बालकलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।
