ईजरायली राजदुतले भने– म पनि तपाईको परिवारको सदस्य जस्तै हो

धनगढी : हमासको आक्रमणमा मारिएका सुदूरपश्चिमका विद्यार्थीहरुको शव पु¥याउन आफै आएका ईजरायलका राजदुत हनान गोडेरले मृतकका परिवारजनलाई भेटेर दुःख व्यक्त गरेका छन् ।

ईजरायल सरकारका तर्फबाट मृतकका परिवाजनलाई सहानुभूति दिन स्वयम उपस्थित भएका राजदुत गोडेरले हमासको आक्रमणमा परी विद्यार्थीहरुको मृत्यु भएकोमा आफू दुखित भएको बताए । अर्न एण्ड लर्न कार्यक्रम अन्तर्गत ईजरायलमा रहेका विद्यार्थीहरुको हमासको आक्रमणमा मृत्यु भएकोमा म अत्यन्त दुखित छु, राजदुत गोडेरले भने, म पनि तपाईहरुको सन्तान जस्तै हुँ । म र मेरो देश ईजरायल यो दुःखद घडीमा तपाईहरुको साथमा छु ।

राजदुत गोडेरले दोभाषे मार्फत मृतकका परिवारजनलाई ईजरायल सरकारका तर्फबाट समवेदना व्यक्त गरिरहदा मृतकका परिवारजन भने मौन थिए । प्रियजन गुमाएको झण्डै दुई सातापछि शव पाएका मृतकका परिवारजनसंग कुनै शब्द थिएन । आँखामा आँशु र मनमा पीडा लिएर शब बुझ्न धनगढी बिमानस्थलमा आएका मृतकका परिवारजन राजदुतका कुरा एकोहोरो सुनिरहे । उनीहरुले कुनै प्रतिक्रिया जनाएनन ।

नेपाली सेनाको एनए–०६२ सीएएसए जहाजमा शवलाई लिएर ईजरायली राजदुत हनान गोडेर, प्रधानमन्त्री कार्यालयका उपसचिव सावित्री कुमारी अधिकारी र परराष्ट्र मन्त्रालयका प्रतिनिधि प्रविन भट्टराई सहित सात जना र चालक दलका चार जना सदस्यको टोली शनिवार अपरान्ह सवा पाँच बजे धनगढी आईपुगेको थियो ।

दुई साताअघि ईजरायलको किबुज अलमिममा हमासको आक्रमणमा परी सुदूर पश्चिमको कैलालीको घोडाघोडी नगरपालिका– ४ का नारायण प्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका–६ का गणेश कुमार नेपाली, बर्दगोरिया गाउँपालिका–३ का आशिष चौधरी, आदर्श गाउँपालिका–८ का पदम थापा, शिखर नगरपालिका –३ पच्नालीका राजन फुलारा, दार्चुलाको लेकम गाउँपालिका–५ का दिपेश बिष्ट, मालिकार्जुन गाउँपालिका– ४ लोकेन्द्र सिंह धामीको मृत्यु भएको थियो । त्यस्तै धनुषाका आनन्द साह, सुनसरीका राजेश कुमार स्वर्णकार,सल्यानका प्रबेश भण्डारीको समेत हमासको आक्रमणमा परी मृत्यु भएको थियो ।

सरकारले हमासको आक्रमणमा परी मृत्यु भएका सुदूर पश्चिमका सात जना मध्य दार्चुलाका धामी र बिष्ट, कैलालीका न्यौपाने र चौधरीको शव सरकारले आफन्तलाई बुझाएको हो । हमासको आक्रमणमा मृत्यु हुनेहरु सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलालीको टीकापुर कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु हुन् । ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत ४९ जना विद्यार्थी भदौ २५ र २६ गते इजरायल गएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.