अत्तरिया : अत्तरिया चोकदेखि पूर्व रोड छिर्ने बित्तिकै एक जना छिनो र हथौडा लिएर ढुङ्गामा बुट्टादार आकृति बनाइरहेको देखिन्छन् । कैलालीको टिकापुर घर भएका उनी हुन् मुन्सी पत्थरकट । उनी कैलालीको गोदावरी खोलाबाट ढुङ्गा ल्याएर अत्तरियामा सिलौटो, चनौटो, लोहोरो, जाँतो बनाउछन् ।
झन्डै ४३ वर्षदेखि ढुङ्गाको काम गर्दे आएका उनी परम्परागत नेपाली औजार बनाउनमा माहिर छन् । मसला पिस्ने, पीठो बनाउन, खाना पकाउने लगायतका काममा प्रयोग गरिने यी प्रविधिलाई मुन्सी कहिले पहाड गएर बेच्छन् त कहिले धनगढी र महेन्द्रनगर । मुन्सीले आफ्ना उत्पादनहरू साइकलमा गाउँ गाउँ डुलाउँछन् । नबेचिएकालाई फेरी त्यही लिएर आउँछन् ।
मुन्सी अहिले सडक छेउमै आफ्नो काम गर्ने ठाउँमा सुत्छन् । उनले एउटा ओछ्यान र केही भाँडाकुँडा छेउमै राखेको छन् । आफ्ना बुवा बाजेको पालाबाट चली आएको यो पेसालाई अङ्गाल्दा आफू खुसी भएको उनी बताउँछन् । उनी भन्छन् ‘बुवाले मलाई यो कला सिकाए आफ्नो परम्परागत पेसालाई ४३ वर्षदेखि गर्दे आएका गर्व पनि लागेको छ ।’ तर अहिले आफ्नो पेसालाई आधुनिक प्रविधिले विस्थापित गर्न लागेको गुनासो गर्छन् । ‘अहिलेका आधुनिक प्रविधिले यो पेसालाई विस्थापित गर्न थालेको छ तर यो कला सिक्न युवा पुस्ताले चासो दिएका छैनन् ।’ उनले भने ।
ढुङ्गाको साइज र त्यसमा भरेका बुट्टाका आधारमा आधारमा प्रत्येक टुक्राका लागि ८ सयदेखि २ हजार रुपैयाँसम्म लिने गरेको उनी बताउँछन् । आफ्नोमा काममा मुन्सी सन्तुष्ट भए पनि काम भने सहज छैन । आफ्नो औजारबाट आउने धुलो, आवाज र कम्पनले स्वास्थ्य र श्रवण शक्तिमा असर गर्ने उनी बताउँछन् । लगातार ढुङ्गाको कणको सम्पर्कमा आउँदा आँखा र छातीमा जलन हुने गरेको उनी बताउँछन् ।
आफ्नो कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न चाहेको उनको भनाइ छ । आफ्नो सीप सिक्न चाहने जो कोहीलाई सिकाउन चाहेको उनको भनाइ छ ।