प्रदेश सरकारको सहयोगमा बाजुराको प्याज अत्तरियामा

अत्तरिया, १४ कात्तिक : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको अर्गानिक प्याज कैलालीका गोदावरी नगरपालिकाको अत्तरियामा पुगेको छ ।
स्वामिकार्तिक गाउँपालिकाको बाहुन गाउँमा उत्पादन भएको प्याज बिक्रिका लागि मंगलबार अत्तरिया कृषि थोक बजार अत्तरियामा पुगाएको हो ।
प्याज अत्तरियासम्म पुर्याउन भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ढुवानी सहयोग गरेको छ भने कृषि ज्ञान केन्द्र बाजुरा तथा स्वामिकार्तिक गाउँपालिका र बडीमालीका नगरपालिकाले बजारीकरण तथा प्रर्वद्धनकालागि सहयोग गरेका हुन् ।
त्यस्तै स्वामिकार्तिक खापर गाउँपालिकामै रहेको कार्तिक स्वामी बहुउदेश्यीय सहकारी सँस्थाले संकलनकालागि सहयोग गरेको हो । स्वामिकार्तिक खापर गाउँपालिकामा करिब २ सय क्विन्टल प्याज उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मिनप्रसाद जैशीले बताए । मंगलबार करिब ४५ क्विन्टल प्याज अत्तरिया ल्याईएको उनले बताए । उनले सडक सुविधा नभएका कारण प्याज ढुवानी समयमा गर्न नपार्ईएको बताए ।

प्याज उत्पादन हुने सिजनमा वर्षाका कारण ग्रामिण सडकहरु बिग्रीएपछी लामो समय स्टोरमा राख्नु परेको उनले बताए । प्याज बजारीकरणमा प्रदेश सरकारको सहयोग रहने कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले बताए । स्थानीय उत्पादनकालागि सुदूरपश्चिममा बजारीकरणको समस्या नभएको उनले बताए । सहजरुपमा बजारीकरण गर्न ज्ञान केन्द्रलाई पनि निर्देशन दिईएको उनको भनाई थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.