काठमाण्डौँ : राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन् । भूकम्पप्रभावित नागरिकको अवस्था बुझ्न उनी त्यस क्षेत्रमा जान लागेका हुन् ।
राष्ट्रपति बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । उनी युरोप भ्रमण स्थगित गरेर भूकम्पप्रभावित जान लागेका हुन् । यही २२ कात्तिकदेखि १ मंसिरसम्म उनको युरोप भ्रमण तय भएको थियो । मुलकुमा विपत्ति परेको बेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उनले फ्रान्स, इटाली र जर्मनीको भ्रमण स्थगित गरेका हुन् ।
जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६।४ रेक्टरको भूकम्प गएको थियो । भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने करिब २ सयजना घाइते भएका छन् ।